जनता टाइम्स

५ असार २०७६, बिहीबार १६:१३

पर्यटन सुन्दरी प्रतियोगिता साउन २५ मा


काठमाडौं, असार ५

पर्यटकीय गतिविधिको प्रचारप्रसारका लागि महत्वपूर्ण ‘प्रडक्ट’ का रुपमा पर्यटन क्षेत्रको सुन्दरी प्रतियोगिता ‘मिस टुरिज्म’ लाई पनि लिइन्छ । सौन्दर्य ‘ग्ल्यामर’ पर्यटनको अभ्यास विकसित मुलुकमा पनि भएको पाइन्छ, जसका माध्यमबाट पर्यटनलाई आकर्षण गर्ने र प्रवद्र्धन गर्ने उपयुक्त आधार पनि बन्दै आएको उदाहरण छन् ।

नेपालको पर्यटन क्षेत्रमा पनि पछिल्लो समय सौन्दर्य पर्यटनको अभ्यास थालिएको छ । प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ देखि हरेक वर्ष ‘मिस टुरिज्म’ प्रतियोगिता गर्दै आएको छ । विगत झैँ यस वर्ष पनि मिस टुरिज्म–२०१९ को चौथो संस्करण आगामी साउन महीनामा आयोजना हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक प्वाइन्ट मिडियाले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताले पर्यटन क्षेत्रमा नयाँ अवसरको सिर्जना गर्नाका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

पर्यटन क्षेत्रमा योग्य र दक्ष जनशक्तिलाई आकर्षण गर्ने मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा क्षमता प्रदर्शन गर्ने अवसरसमेत पाएको प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो । उहाँले प्रतियोगितालाई व्यवस्थित र पारदर्शी बनाउन सरोकार भएका निकायसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

निजी क्षेत्रको अग्रसरतामा नेपाल पर्यटन बोर्डलगायत विभिन्न निकायको साझेदारीमा भइरहेका यस्ता प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अन्तर्राष्ट्रिय रुपमा समेत अभ्यास भइरहेको मिस टुरिज्मजस्ता प्रतियोगिताले पर्यटन प्रवद्र्धनका लागि मात्र नभई महिला नेतृत्व विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का पूर्वअध्यक्ष चन्द्र रिजालले मिस टुरिज्मलाई व्यावसायिक प्रवद्र्धनको रुपमा स्थापित गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य रामशरण थपलियाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पनि प्रतियोगिताको उपयोग गर्नसक्नुपर्ने धारणा राख्नुभयो ।

पर्यटन व्यवसायी राजन सिंखडा, सागर पाण्डेलगायतले पर्यटनको महत्वपूर्ण प्रडक्टका रुपमा रहेको प्रतियोगितालाई ताज पहि¥याउने मात्र नभई उनीहरुको क्षमतालाई पर्यटन क्षेत्रले सदुपयोग गर्नसक्नुपर्नेमा जोड दिनुभयो । आगामी साउन २५ गते आयोजना हुने मिस टुरिज्मको अन्तिम प्रतिस्पर्धाका लागि भोलि शुक्रबार (असार ६ गते) देखि देशभर आवेदन खुल्ला गरिनेछ ।

प्रतियोगितामा १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाले आगामी असार २० गतेसम्म आवेदन दिन पाउने आयोजकले जनाएको छ । काठमाडौँ, पोखरा र चितवनमा अडिशन लिइनेछ । छानिएका प्रतिस्पर्धीलाई २० दिनसम्म विभिन्न विधाका प्रशिक्षकले तालीम प्रदान गरिनाका साथै आन्तरिक पर्यटन प्रवद्र्धनार्थ विभिन्न गन्तव्यको भ्रमणमा समेत लगिने जनाइएको छ ।

प्रतियोगिताका बिजेतालाई क्रमशः मिस टुरिज्मलाई नगद रु ५० हजार, फस्ट रनर अपलाई रु ३० हजार र सेकेण्ड रनर अपलाई रु २० हजार प्रदान गरिनेछ । बिजेतालाई ब्राण्ड एम्बेस्डरको अवसरका साथै वर्षभरी नै विभिन्न कार्यक्रममा अवसर दिइनेछ ।