जनता टाइम्स

२ आश्विन २०७८, शनिबार २१:४०

देउवा सरकार इतिहासकै सवैभन्दा असफल : कृष्णभक्त पोखरेल



काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले नेपालको संविधान विश्वमै राम्रो संविधान भएको ठोकुवा गर्नुभएको छ ।

उहाँले भन्नुभयो ,‘नेपालको संविधान २०७२, देशको ७ औं संविधान हो । ६ वटा संविधान जनताले लेखेको होईन । २०७२ को संविधानमा जनताको चाहना प्रतिनिधित्व भएको छ। दुनियाँमा यस्तो तहको सहमति भएको छैन् । ९० प्रतिशतभन्दा बढिको सहमतिमा यो संविधान आएको हो । प्रयोगको सन्दर्भमा हिजो अस्विकार गर्नेहरु पनि आज कार्यान्वयनको चरणमा सँगै आउनुभएको छ । संविधानमा सबै अधिकार सुनिश्चितता गरेको छ । कार्यान्वयनको चरणमा जाँदा अब राजनीतकि मुद्दा सबै सकियो भन्ने लाग्दथ्यो । मैले यो चार वर्षमा एक पटक पनि कुनै पनि पार्टीको विरुद्धमा बोेलेको छैन् ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले दलहरुको बीचमा राष्ट्रियताको सवालमा एकमत कायम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ,‘राष्ट्रियताको मुद्दामा दलहरुबीच साझा दृष्टिकोण बनाउन सकिएन, यो दुःखको कुरा हो । आज बजेट होलिडे मनाउनुपर्ने अवस्था सिर्जना भयो । सरकार गठन भएको दुई महिना बितिसक्दापनि यसलाई पूर्णता दिन सकेको छैन् । बजेट समयमा पास भएन ।’ सरकारले नेकपा एमालेलाई टुक्राउनको लागि समय बढि खर्चिदा मुलुक आज समस्यामा परेको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो ,‘माधव नेपाललाई पार्टी फुटाउनको लागि पर्याप्त समय दिएरमात्रै सरकारले हाउस बोलायो, उसले महत्वपूर्ण समय खेर फाल्यो ।’

नेपालको संविधान गर्वका साथ भन्छु लोकतान्त्रिक संविधान, विश्वको राम्रो हो । यसमा धेरै राम्रा चिज छन् । संघीयताको सवालमा रिभ्यु गर्नुपर्छजस्तो मलाई लागिरहेको छ । खर्च जुन भैरहेको छ, त्यो परीणाममुखी देखिएको छैन । संविधान कार्यान्वयनको क्रममा रहेकाले दलहरुबीच १५–२० वर्षसम्म सहकार्य गर्नुपर्छ ।’ उहाँले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको दुई महिना कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गनुभयो । उहाँले भन्नुभयो ,‘नेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन् ।’