जनता टाइम्स

५ असार २०७६, बिहीबार १८:१२

कांग्रेस भिरबाट लडेको मान्छे जस्तो भयो, जे भेट्टायो त्यही समात्छ – सांसद बस्नेत


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एजेण्डा विहिन भएको बताउनु भएको छ । उहाले आफ्ना कुनै एजेण्डा नभएपछि बाटोमा जे भेट्टायो त्यही समात्ने गरेको बताउनु भयो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद बस्नेतले भन्नुभयो, ‘भीरबाट लडेको मान्छेले जे पायो त्यै समाएझैँ कांग्रेसले कहिले शाही, कहिले केसी समाउँछ । कांग्रेस पानी जहाज बनाउने सपना देख्दैन तर कागजका पानी जहाज बनाएर फेसबुकमा राख्नेहरूका एजेन्डा समात्छ ।’ पूर्वमन्त्री समेत रहनु भएका बस्नेतले लोकतान्त्रिक पार्टी हुने हो भने कांग्रेस सच्चिनुपर्नेमा जोड दिनुभयो । ‘कांग्रेस नौटंकीकारहरूको एजेन्डा समातेर अगाडि हिँड्छ’, उहाले अगाडी भन्नुभयो, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हुने हो भने सच्चियोस् ।’

सांसद बस्नेतले सरकारले ल्याएका विधेयक संसदमा छलफल हुन नदिने कांग्रेसलाई निजी विधेयक लिएर आउन चुनौती समेत दिनुभयो । विधेयकमा फरक मत भए संशोधनद्वारा परिमार्जन गर्न सकिने प्रक्रियालाई कांग्रेसले बेवास्ता गरेको बताउनु भयो । ‘फेसबुकमा के आयो भन्ने कुरा यहाँ ल्याएर लोक नहँसाउनुस । १८० भन्दा बढी विधेयक सर्वसम्मत ढंगले पास गरेका थियौँ। चिकित्सा शिक्षा विधेयक पनि गोविन्द केसीको भूत ल्याएर यहाँ नआएको भए सर्वसम्मत पास हुन्थ्यो’, सांसद बस्नेतले कांग्रेसलाई प्रश्न गर्दै भन्नुभयो, ‘सरकारको प्रस्ताव छिर्न नदिने अनि सरकार अधिनायकवादतर्फ गइरहेको भन्ने ?’ प्रधानमन्त्रीलाई सदनमा बोल्न नदिएको कुरालाई लिएर रोष्ट्रम घेरेको घटनाप्रति बस्नेतले रोष प्रकट गर्नुभयो ।