जनता टाइम्स

३ आश्विन २०७८, आईतवार ११:१२

लन्डनमा एनआरएनएको तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन


लन्डन, ३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हिजो लन्डनस्थित नेपाली दूतावासमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको सुरु भएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको सुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली संघ तथा संसार भरिरहेका नेपाली स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो । एनआरएनएका महासचिव डा. हेमराज शर्माले विदेशका रहेका नेपालीहरूमा प्रशस्त सम्भना रहेको बताउँदै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएर सकृय हुन आग्रह गर्नुभयो ।

शर्माले संघ कोरोना महामारीमा बिदेशमा अलपत्रमा परेका नेपालीहरूको उद्धारमा खटिएको बताउनुभयो । एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताउनुभयो । उहाँले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिनुभयो ।

महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने उहाँले जानकारी दिनुभयो । उहाँले सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने तथा ५० भन्दाबढी कार्यशाला सञ्चालन गरी समूहगत छलफल हुने जानकारी दिनुभयो । सम्मेलन आइतबार साँझ लन्डन घोषणापत्र जारी गर्दै समापन हुने छ ।