जनता टाइम्स

४ आश्विन २०७८, सोमबार ०८:४२

काभ्रेका चार स्थानीय तह कोरोनामुक्त


काभ्रेपलाञ्चोक, असोज ४ कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक/एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डीसीसीएमसी०ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको हो । आइतबार २६ र शनिबार १५ सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

काभ्रेमा छ नगर र सात गाउँपालिका छन् । जिल्लामा हाल १०१ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३३, पाँचखालमा १६, धुलिखेलमा १८, पनौतीमा १०, नमोबुद्धमा ११ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा चार सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदरभन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ४६२ मा सङ्क्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ प्रतिशतअर्थात् १४ हजार १६९ सङ्क्रमणमुक्त भइसकेका छन् । गत भदौ महिनायता नगन्यदरमा सङ्क्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा यही असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।