जनता टाइम्स

४ आश्विन २०७८, सोमबार ०८:५२

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ तयारी (कार्यसूचीसहित)


काठमाडौं, असोज ४ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्धलाई यथावत राखेपनि विनियोजन विधेयक, २०७८ पारित गर्ने सरकारको तयारी छ । समयमै विनियोजन विधेयक पारित नगरेर सरकारले अहिले बजेट होलिडेको अवस्था सृजना गरेको छ । भदौ ३१ गतेदेखि सरकारले आफ्नो ढुकुटीबाट एक रुपैयाँ खर्च गर्न पाएको छै ।

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजे बस्ने बैठकका लागि विभिन्न ६ वटा सम्भावित कार्यसूची तय गरिएको छ । बैठकमा विनियोजन विधेयक, २०७८ माथि छलफल हुनेछ ।

यस्तै बैठकमा सांसद् प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।

विनियोजन विधेयक अन्तरगत विभिन्न मन्त्रालय, कार्यालय र सचिवालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकमाथि सांसद् सुवालले राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । त्यसपछि विनियोजन विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ । उहाँले आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ । अर्थमन्त्रीले नै आर्थिक विधेयकमा दफाबार छलफलको मिति तोक्न प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ । अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भन्नका लागि प्रस्ताव पेस गर्नुहुने पनि कार्यसूचीमा उल्लेख छ ।