जनता टाइम्स

५ आश्विन २०७८, मंगलवार १५:३०

पारस र दीपेन्द्रले नखेल्ने, यी हुन् ईपीएल खेल्ने ६ टिम र खेलाडी


काठमाडौं, असोज ५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र वर्तमान टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । यही असोज ९ गतेदेखि शुरु हुने ईपीएलका लागि आयोजक ईपीएल प्रालिले मंगलबार सार्वजनिक गरेको ६ वटै ईपीएल खेल्ने टिमको खेलाडी सूचीमा पारस छैनन् ।

पारसले यसअघि विराटनगर वारियर्सबाट खेल्दै आएका थिए । पारसकै कप्तानीमा विराटनगरले २०१७ मा ईपीएलको उपाधि जितेको थियो । पारसले दुई महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । तर घरेलु क्रिकेट भने खेल्ने संकेत गरेका थिए । यद्यपि, उनले ईपीएल नखेल्ने भएका छन् । यस्तै काठमाडौं किंग्स ११ मा अनुबन्ध भएका नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ईपीएल नखेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय टिमसँग ओमान भ्रमणका क्रममा दीपेन्द्र घाइते भएका थिए । उनले ओमान टूरमा नेपालको सबै खेल गुमाएका थिए । चोटका कारण केही हप्ता विश्राम गर्नुपर्ने भएकोले दीपेन्द्रले ईपीएल नखेल्ने भएका हुन् । यसैगरी विराटनगर वारियर्सबाटै खेल्दै आएका स्पीनर वसन्त रेग्मीले पनि ईपीएल नखेल्ने भएका छन् । वसन्तसँगै अमेरिकामा माइनर क्रिकेट लिग खेलेका पृथु बास्कोटा पनि ईपीएल खेल्ने सूचीमा छैनन् ।

पर्थ पोखरा राइनोजमा अनुबन्ध भएका थिए । चौथो संस्करणको ईपीएल आगामी शनिबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स ११ सँग खेल्नेछ । फाइनल खेल असोज २३ गते हुनेछ । ईपीएलको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउनेछ । यस पटक ईपीएलको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको हो ।

ईपीएलमा ललितपुर र काठमाडौंसहित विराटनगर वारियर्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । यस पटक ईपीएलमा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, बंगलादेशका सफल ब्याट्सम्यान तमिम इकबाल, श्रीलंकाका पूर्व कप्तान तथा ओपनर उपु थरंगा र अहिलेका राष्ट्रिय टिमका खेलाडी असेला गुनरत्ने, वेस्ट इन्डिजका केसरिक विलियम्स र हेमराज चन्द्रपल, जिम्बावेका सिकन्दर राजा, अफगानिस्तानका मोहम्मद शाहजाद र रहमानुलल्ह गुर्बाज जस्ता खेलाडी खेल्दैछन् ।