अफगान, असोज ५ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख तथा महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस अफगानिस्तान पुग्नुभएको छ । अफगानिस्तानको स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार अवलोकन गर्न उहाँ अफगानिस्तान जानुभएको हो । टेड्रोसले कोभिड महामारी, पोलियो भ्याक्सिनेसन अभियान, आपत्कालिन स्वास्थ्य सुरक्षा क्षेत्रको महत्व लगायत बिषयमा तालिवानका अधिकारिहरूसँग छलफल गर्ने कार्यतालिका छ ।
कोभिड महामारीबीच राजधानी काबुल पुगेका टेड्रोसले डब्लुएचओले अफगानिस्तानको स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिने विषयमा समेत छलफल गर्ने अफगानिस्तानका स्वास्थ्यमन्त्री डा. वाजिद मजरुह्ले बताउनुभयो । यसबीच मजरुह्ले स्वास्थ्यमन्त्रीका रुपमा आफ्नो कार्यकाल आज सकिने ट्वीटरमार्फत जानकारी दिनुभएको छ ।
टेड्रोस डब्लुएचओको पूर्वी भूमध्य क्षेत्रीय कार्यालयका निर्देशक अह्मद अल मन्धारीसँग अफगानिस्तान पुग्नुभएको हो । अफगानी नागरिकको स्वास्थ्य सुरक्षा डब्लुएचओको प्राथमिकतामा रहेको बताउँदै टेड्रोसले त्यहाँका कर्मचारी, स्वास्थ्यकर्मी र तालिबानी नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
तालिवानद्वारा सत्ता कब्जापछि अफगानिस्तान पुग्ने उहाँ संयुक्त राष्ट्र संघका पहिलो उच्च अधिकारी हुनुहुन्छ । साथै उहाँले प्यान अमेरिका हेल्थ अर्गनाइजेसन (पीएएचओ) काउन्सिलको ५९औं भर्चुअल कार्यक्रममा पनि काबुलबाटै सहभागिता जनाउनुभयो । पीएएचओले उत्तर तथा दक्षिण अमेरिकाका मानिसको स्वास्थ्य अवस्थाको सुधार तथा सुरक्षाका लागि काम गर्दै आएको छ। एजेन्सी













प्रतिक्रिया दिनुहोस्