जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार ०७:३८

हाइटीका लागि अमेरिकी विशेष दूतद्वारा आकस्मिक राजीनामा


काठमाडौं, असोज ८ । हाइटीका लागि अमेरिकी विशेष दूतले आकस्मिक राजीनामा दिनुभएको छ । नियुक्ति भएर जिम्मेवारी सम्हालेको दुई महिनामै विशेष दूत डानियल फुटले पदबाट राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा हाइटीबाट आएकाहरूको विषयमा भएको विवादका कारण उहाँले राजीनामा दिनुभएको खबरमा उल्लेख छ । हाइटीका हजारौँ शरणार्थी तथा अवैध आप्रवासीलाई अमेरिकाबाट हाइटी पठाउन थालिएको बाइडेन प्रशासनको निर्णयलाई आफूले अमेरिकी प्रतिनिधिको रुपमा सहजीकरण गर्न नसकेको भन्दै राजीनामा दिएको बताउनुभएको छ ।

उहाँले विदेश मन्त्रीलाई पठाउनुभएको राजीनामा पत्रमा हाइटीमा आफ्नो ज्यान जोगाउन पनि कठिन रहेको उल्लेख गर्नुभएको छ । अमेरिकाको यो निर्णयले हाइटीका नागरिकलाई आक्रोशित बनाएकाले उनीहरूले कुटनीतिक मर्यादा भुलेर आफूमाथि आक्रमण गर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

आप्रवासी तथा शरणार्थीहरुमा बस्ने शिविर, खाद्य पदार्थ, पैसालगायत अत्यावश्यक चिजको नै अभाव रहेको उहाँको भनाइ छ । कतिपय शरणार्थीहरू मानसिक समस्यामा रहेका उहाँले बताउनुभएको छ ।

गएको आइतवारदेखि अमेरिकाले मेक्सिकोको सिमानामा रहेको टेक्सास शिविरबाट एक हजार ४ सय एक जना आप्रवासीहरुलाई फर्काइसकेको छ । भूकम्प र राजनीतिक अस्थिरताबाट भागेर आएका आप्रवासीहरलाई यसरी फिर्ता गर्ने निर्णय अमानवीय भएको उहाँले टिप्पणी गर्नुभएको छ ।