जनता टाइम्स

६ असार २०७६, शुक्रबार १२:३५

देश विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छ : उपराष्ट्रपति पुन


चितवन, ६ असार

उपराष्ट्रपति नन्दबहादुर पुनले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको छ । आज बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा उहाँले धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको हो । सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति पुनले सरकारलाई सुझाव दिने बताउनुभयो ।

उहाँले हरिहर सन्यास आश्रम, परमानन्द संस्कृत विद्यापिठ, वेनी सङ्गम, अघोर आश्रम, वशिष्ठ गुफा, सिता गुफा, सिद्धेश्वर शिवालय मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, विध्येश्वर मन्दिर दर्शन गर्नुभएको थियो । उपराष्ट्रपति पुनलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिव पौडेलले देवघाट क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो ।

उहाँका अनुसार पहिलो पटक देवघाट पुग्नुभएका उपराष्ट्रपति पुनले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिनुभएको छ । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार चितवन आउनुभएका पुन आज काठमाडौँ फर्कने कार्यक्रम छ ।