जनता टाइम्स

८ आश्विन २०७८, शुक्रबार १५:०३

काग्रेंस कार्यकर्ताले पार्टीको झण्डा भैंसीलाई बुझाइदिए


काठमाडौं, ८ असोज । १४ औं केन्द्रिय महाधिवेशनमा होमिएको नेपाली काग्रेंसलाई कार्यकर्ता थामथुम पार्ने चटारो चलिरहेका बेला एक जना असन्तुष्ट कार्यकर्ताको व्यवहारले भने हैरानी बनाएको छ । पार्टीमा लामो समय काम गरेका र खटेका कार्यकर्ताले नेपाली काग्रेंससँग वाक्क भएर जब पार्टीको झण्डा भैसींलाई जिम्मा मात्र लगाउनुभएन उक्त तस्बिर सामाजिक संजालमा पोष्ट गर्दै कडा टिप्पणीसमेत गर्नुभएको छ । सामामाजिक संजालमा उहाँले आफ्नो बुबालाई प्रिय लागेको काग्रेंसको झण्डा आफुले धेरै लामो समय बोके पनि अब भने भैसीलाई चढाएको उल्लेख गर्नुभएको छ । भैसिलाई झण्डा बुझाउनु पर्नाको कारण दिंदै उहाँले काग्रेंसको झण्डा पशुलाई मात्र उपयुक्त हुने तर्क अघि राख्नुभएको छ ।

काग्रेंसको झण्डा भैसीलाई बुझाउने युवा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नंं ५ त्यागथलीका दावा लामा हुनुहुन्छ । दावा लामाले लामो समय पार्टीमा काम गरेको र पार्टीका लागि झै–झगडा गर्नुका साथै कतिपटक पार्टीकै लागि कुटाइ खानुपरेपनि पार्टीले आफ्नो गाउँमा कुनै विकास नगरेको दुखेसो पोख्नुभएको छ। ‘जति त्याग र संघर्ष गरे पनि नेपाली काग्रेंस आफुले सोचेजस्तो पार्टी नभएको निष्कर्षमा आफु पुगेर पार्टीको झण्डा भैंसीलाई बुझाए’को उहाँले सामाजिक संजालमा खुलाशा गर्नुभएको हो । आफ्नो बाउबाजेदेखि नै आफुहरु काग्रेंसमा लागेको र अरु पार्टीमा नलागेको बताउँदै दावाले काग्रेंसका नेताहरुले सधै झुटो मात्र बोल्ने गरेको र गाउँमा कुनै विकास नगरेकोले आफुले बोक्ने गरेको काग्रेंसको झण्डा भैसंीलाई बुझाइदिएको बताउनुभएको छ ।

‘कुनै समय एक्लैमात्र रहँदा पनि यो झण्डा बोके तर आज थाहा भयो यो त मान्छेले बोक्ने झण्डा होइन रहेछ, यो त घाँसखाने पशुले बोक्ने झण्डा पो रहेछ ,’दावाले भन्नुभएको छ । पार्टीबाट विरक्तिनुमा आआफ्नै कारण होलान्, धेरैले धेरै पार्टी परिर्वतन गरे पनि होला तर यी युवाको विरोध गर्ने शैलीले भने यत्तिखेर धेरैको ध्यान खिचिरहेको छ । दावाको फेसबुक पोष्ट यत्तिखेर सामाजिक संजालमा भाइरल भइरहेको छ ।