जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार २१:१८

राजनीतिक दलका शरणमा पुगेर चुनाव जिताइदिन आग्रह गर्ने परिपाटीको अन्त्य गरिनुपर्छ : डा. केसी



काठमाडौं, असोज १६ ।  काठमाडौ गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा. बद्रि केसीले राजनीतिक दलका शरणमा पुगेर चुनाव जिताइदिन आग्रह गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

एनआरएनएको अक्टोबरमा हुने भनिएको दशौं महाधिवेशनको अवसर पारेर शनिबार देश र विदेशका प्रवासी पत्रकारहरूसँगको अन्तरक्रियामा डा. केसीले एनआरएनजस्तो सामाजिक संस्थाको न्युनतम गरिमा समेत नराखी चुनाव जिताइदिन भन्दै नेताको घरदैलो चहार्दै हिड्नु अभियानकै बेइज्जत भएको बताउनुभयो । राजनीतिक दलका नेताहरुसँग राम्रो सम्बन्ध बनाउनुपर्छ तर संस्थामा हस्तक्षेप भित्राउने गरी लम्पसार नपर्न सरोकारवालाहरुलाई आग्रह गर्दै केसीले भन्नुभयो , “नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग मेरो पनि राम्रो सम्बन्ध छ । उहाँहरुसँगको भेटमा चुनाव जिताइदिन आग्रह गर्दै सहयोगको याचना गर्नेहरुलाई मतदाताहरूसँग जान र विधानअनुसार अघि बढ्न सुझाव दिनुहोला भन्ने गरेको छु । मैले भेटेर फोटो खिच्दैमा राजनीतिक दलको उम्मेदवार भयो र जित्नको लागि याचना गर्न पुग्यो भन्ने हुँदैन । म त ती भेटहरुमा तपाईहरु एनआरएनलाई हस्तक्षेप नगरिदिनुस, संस्था हाँक्न हामी सक्षम छौं भनेर भन्ने गरेको छु ।

” संस्थाको मर्यादा कायम राख्दै राजनीतिक हस्तक्षेपमुक्त बनाउन अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने भन्दै उनले विचार मिल्ने साथीहरूको टिम बनाएर अघि बढ्ने तर प्यानलनै भनेर घोषणा भने नहुने बताउनुभयो । त्यसैगरी राजनीतिक हस्तक्षेप र पैसाको चलखेल रोक्न अनलाइन भोटिङको व्यवस्था मिलाइएको उहाको दावी छ । १८ वर्षको अवधिमा संघले आफ्नो मार्गचित्र स्पष्टरुपमा कोरेको र आगामी कार्यसमितिले त्यसअनुरुप काम गर्नुपर्ने बताउँदै केसीले गैरआवासीय नेपालीले राजनीतिकबाहेक सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार पाउनुपर्ने पक्षको सुनिश्चिता अब अन्तिम चरणमा रहेको दावी समेत गर्नुभयो । साथै अन्तरक्रियामा बोल्दै डा. केसीले नेपाली नागरिकता लिएको खण्डमा विदेशी नागरिकता गुम्ने देशमा रहेका नेपालीलाई गैरआवासीय कार्डमार्फत ती अधिकार सुनिश्चिता गरिनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनुभयो । विदेशमा बस्दा नेपालको पैतृक सम्पत्ति वा नेपालमा रहंदा कमाएको सम्पत्तिको सुरक्षा र एनआरएन कार्डका आधारमा आर्थिकलगायतका कार्य गर्न पाए पनि अन्य अधिकारका लागि अझै समस्या रहेको उहाँको भनाइ छ ।

डा. केसीले गैरआवासीय नेपाली ऐन परिमार्जन गर्न आवश्यक भएको पनि बताउनुभयो । ऐनमा भएको प्रावधानअनुसार सीमितरुपमा लगानी गर्न वा सम्पत्ति किन्न सक्ने प्रावधान भएपनि व्यवहारमा सम्भव नभएकाले ऐनका प्रावधानहरूमाथि पुर्नविचार गर्नुपर्ने बताउनुभयो । एनआरएनएमा बौद्धिक व्यक्तित्वको छबि बनाएका डा. केसी १८ वर्षदेखि एनआरएनएमा सक्रिय हुनुहुनछ। उहाँ सन् २००७ मा एनआरएन रुसको महासचिव, २००९ देखि दुई कार्यकाल आइसीसी सदस्य, २०१३ देखि २०१५ सम्म कोषाध्यक्ष भएका थिए । २०१५ देखि दुई कार्यकाल महासचिव बनेका डा. केसी वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् ।