जनता टाइम्स

७ असार २०७६, शनिबार १६:०८

सिरहामा नदी किनारबाट कटुवा पेस्तोल बरामद


सिरहा, असार ७

सिरहाको दक्षिणी सीमावर्ती पटेर्वा गाउँ नजिकै पर्ने कमला नदी किनारबाट सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट खैटोकास्थित माडरबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका वडा नं. १७ पटेर्वा गाउँ नजिकै पर्ने कमला नदी किनारबाट पेस्तोल बरामद गरेको हो ।

सशस्त्र प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल रोक्न खोज्दा पुनः भारततर्फ नै भाग्न खोजेको र पछ्याउने क्रममा नदी किनारमा फालिएको अवस्थामा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट खैटोका, माडरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले बताउनुभयो ।

सशस्त्र प्रहरी निरीक्षक शाहीका अनुसार मोटरसाइकल पछ्याउने गर्ने क्रममा कमला नदी किनारको घाँसमा कटुवा पेस्तोल फालेर मोटरसाइकल चढेका दुईजना भारततिर नै भागेका छन् । बरामद कटुवा पेस्तोल सम्बन्धमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय सिरहा पठाइएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।