जनता टाइम्स

७ असार २०७६, शनिबार १८:४८

कार्यबिभाजनको एजेण्डामा प्रवेश नै नगरी स्थगित भयो नेकपाको सचिवालय बैठक


काठमाडौं, असार ७

सत्तारुढ नेपाल कम्युनिस्टपार्टी (नेकपा) को सचिवालय बैठक बिना निर्णय स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न सुरु भएको सचिवालय बैठक विना निर्णय स्थगित भएको हो । राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्ने भनिए पनि बैठक खास एजेन्डाको बारेमा प्रवेश हुन नपाउँदै बैठक स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणबारे जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीको युरोप भ्रमणको बारेमा जानकारी क्रममा बढी समय लागेको हुनाले बैठकमा खास विषयको निर्णय हुन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि बसेको यो पहिलो सचिवालय बैठक हो ।

बैठक जारी हुँदै गर्दा प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको नेकपाका नेताहरुले बताएका छन । अर्को बैठक गृहकार्यसहित बस्ने सहमती भए पनि कहिले बस्ने भन्ने मिति तय भएको छैन । सचिवालय सदस्य बामदेव गौतमले अध्यक्षले बैठक बोलाएपछि बस्ने जानकारी दिनुभयो ।