जनता टाइम्स

८ असार २०७६, आईतवार ०८:४१

युवाको लोकसेवाप्रति मोह, ९ पदमा साढे दुई लाख आवेदन


काठमाडौं ।

लोकसेवा आयोगले स्थानीय तहमा रिक्त नौ हजारभन्दा बढी पदका लागि माग गरेको विज्ञापनका लागि शनिबार दिउँसोसम्म साढे दुई लाखभन्दा बढीले फाराम भरेका छन् । असार ३ गतेसम्म फाराम भर्ने मिति तोकिएकोमा अनलाइन फाराम भर्न केही समस्या आएपछि आयोगले असार १० गतेसम्मका लागि अवधि थप गरेको छ ।

शनिबार दिनको साढे ३ बजेसम्म दुई लाख ५५ हजार ७२६ परीक्षार्थीले अनलाइन फाराम भरेका छन् । जसमध्ये दुई लाख ५२ हजार ७६३ खुला, ६१ हजार ८०० महिला, २७ हजार ५०४ जनजाति आदिवासी, १६ हजार २५२ मधेसी, एक हजार ९७४ दलित, १०२ अपाङ्गता भएका र ८३ पिछडिएको क्षेत्रबाट फाराम भरेको जानकारी आयोगका प्रवक्ता किरणराज शर्माले दिनुभयो ।

यसैविच, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं सहसचिव भूपाल बरालले कर्णाली प्रदेश सरकारले पनि रिक्त रहेका दरबन्दीमा विज्ञापनको प्रक्रिया सुरु गर्न पत्राचार गरेको छ । त्यहाँको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयसहित रिक्त दरबन्दी पूर्तिका लागि माग भएको हो ।

मन्त्रालयले स्थानीय तहका लागि सुरुमा ५१५ वटा स्थानीय तहको रिक्त दरबन्दीको विवरण आयोगमा पठाएपछि विज्ञापन भएको थियो । यो विज्ञापनमा समावेशीको विवाद भएपछि दोस्रो चरणको विज्ञापन नै हुन सकेको छैन । कुल ७५३ स्थानीय तहमध्ये ५१५ स्थानीय तहमा रिक्त करिब नौ हजार पदका लागि गरेको विज्ञापन भएपछि त्यसमा समावेशी प्रश्न उठाएर सडकमा विरोधदेखि सर्वोच्चमा मुद्दासमेत विचाराधीन छ ।