जनता टाइम्स

२० आश्विन २०७८, बुधबार २२:१९

पाँचथर अस्पताल तनावग्रस्त, प्रहरीले लाठीचार्ज गर्‍यो


पाँचथर, असोज २० । उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनाले जिल्ला अस्पताल तनावग्रस्त भएको छ । स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित बनेको भीडले अस्पतालमा ढुङ्गामुढा गरेको छ ।

स्वास्थ्यकर्मीकै कारण बालिकाको अनाहकमा ज्यान गएको बताउँदै पीडित पक्षले बुधबार साँझ अस्पतालमा ढुङ्गा मुढा गरेको हो । ढुङ्गा मुढा प्रहारबाट जिल्ला अस्पतालमा क्षति पुगेको छ । ढुङ्गामुढाबाट जोगाउन प्रहरीले अस्पताल क्षेत्रमा लाठीचार्ज गरेको छ । अस्पताल क्षेत्रमा निकै ठूलो भीड लागेको छ । समस्या समाधानका लागि बिहानदेखि नै निरन्तर संवाद हुँदै आएको भए पनि निष्कर्षमा पुग्न सकिएको छैन ।

उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ पल्लोटार बस्दै आएका कमल थाम्सुहाङकी तीन वर्षीया छोरी कृष्टिनाको आज बिहान मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।