जनता टाइम्स

२१ आश्विन २०७८, बिहीबार १९:१८

डीएसपी गौतम अपराध अनुसन्धानमा प्रदेश १ कै उत्कृष्ट


उदयपुर, २१ असोज । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतम यस वर्षको प्रदेश प्रहरीतर्फ उत्कृष्ट अनुसन्धान अधिकृत सावित हुनुभएको छ । गौतमलाई अपराध अनुसन्धानतर्फ प्रदेश १ कै उत्कृष्ट अधिकृतका रूपमा पुरस्कारद्वारा सम्मान गरिएको हो ।

डीएसपी गौतमलाई प्रदेश प्रहरीले ६६औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरीको उपाधिसहित पुरस्कृत र सम्मान गरेको हो । प्रदेश प्रहरी कार्यालय विराटनगरले डीएसपी गौतमलाई अनुसन्धानतर्फ उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरेको हो । झण्डै एक वर्षयता उदयपुरमा कार्यरत रहेका डीएसपी गौतमलाई केही समयअघि जिल्ला प्रहरी कार्यालय उदयपुरले पनि उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत गरेको थियो ।

गौतमले विभागीय मूल्य, मान्यता, आदेश, निर्देशनको अक्षरशः पालना गर्दै कर्तव्यनिष्ठ, लगनशील र व्यावसायिक भएर प्रहरी संगठनको गरिमा राखेको तथा समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत पुरस्कृत गरिएको प्रदेश प्रहरीले जनाएको छ ।