जनता टाइम्स

२२ आश्विन २०७८, शुक्रबार १७:४०

आज थपिए ७६४ संक्रमित, १०३३ निको


काठमाडौं, २२ असोज । नेपालमा आज ७६४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा ७६४ जनामा संक्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ६१४ जना छन् ।

५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० छन् । पछिल्लो २४ घन्टामा एक हजार ३३ जनाले संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ७४ हजार १७३ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ७ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार २१० जनाको निधन भइसकेको छ । हाल देशभर ३१३ जना सघन उपचार कक्ष (आईसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेसन र २४१ जना क्वारेन्टिनमा छन् ।