जनता टाइम्स

२९ आश्विन २०७८, शुक्रबार १०:५९

बडादशैंकै दिन अस्ताए अग्रग मजदुर नेता


सुनसरी, असोज २९ । अग्रज मजदुर नेता ओम कोइरालाको निधन भएको छ ।विराटनगरमा उपचारको क्रममा आज बिहान ३ः१७ बजे कोइरालाको निधन भएको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । तीन दिनअघि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा आईसीयु आवश्यक भएपछि बिहीबार साँझ मात्रै विराटनगर लगिएको थियो ।

कोइरालाको गत सातामात्रै एमालेले सार्वजनिक अभिनन्दन गरेको थियो । नेता कोइराला लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो । २०११ साल चैत १५ गते तेहथुमको खाम्लालुङ्गडमा बुवा देवनारायण र आमा कृष्णमायाको जेष्ठ सुपुत्रका रुपमा उहाँको जन्म भएको थियो । उहाँका श्रीमती ४ छोरा र २ छोरी हुनुहुन्छ । उहाँले शरीर दान गर्नुभएकाले आवश्यक प्रक्रिया पूरा गरेर दिउँसो उहाँकै निवासमा अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम गरिने बताइएको छ ।

नेता कोइरालाले २०३६ सालदेखि २०४६ सालसम्म जननेता मदन भण्डारीको निकट रहेर भूमिगत राजनीति गर्नुभयो । २०२६ सालमा जनता मावि इटहरीमा अध्ययन गर्दा देखिनै उहाँ वामपन्थी राजनीतिमा प्रभावित हुनुभएको थियो । त्यहाँ उहाँ स्ववियू सभापति हुनुभयो । २०३० सालमा महेन्द्र वहुमुखी क्याम्पसमा अध्ययन गर्दा स्ववियूको साहित्य सचिव र भूमिगत संगठन युवा लिगको सचिव भएर भूमिका निर्वाह गर्नुभयो । त्यहि बेला उहाँसमेत संस्थापक रहेर रातोझण्डा नामक कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । उहाँ २०४२ सालमा नेकपा मालेको सुनसरी जिल्ला कमिटीको कार्यवाहक सचिव हुनुभयो ।

२०४६ सालमा आन्दोलनको क्रममा उहाँ पक्राउ पर्नुभयो । २०३४ सालदेखि महेन्द्र मावि इटहरीमा शिक्षक भएर कार्य गरे पनि झापाली नेकपा माले भन्ने आरोप लगाएर उहाँको शिक्षक पेसा खोसिएको थियो । २०४४ सालमा अनेकिसंघ सुनसरीको अध्यक्ष, २०४६ सालमा नेकपा माले अञ्चल सचिवालय सदस्य, २०५० सालमा नेपाल स्वतन्त्र मजदुर युनियनको केन्द्रीय उपाध्यक्ष बनेर मजदुर आन्दोलनलाई उचाईमा पुर्‍याउन अहोरात्र खटिनुभएको थियो ।

२०५१ सालमा नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय सदस्य र २०५६ सालमा पूर्वाञ्चल संयोजकको भूमिकामा रहनुभयो । उहाँले प्रकाशित अप्रकाशित गरि १४ वटा पुस्तक लेख्नुभएको छ ।

उहाँलाई ओम कोइराला नागरिक अभिनन्दन समितिले गत असोज २३ गते इटहरीमा नागरिक अभिनन्दन गरेको थियो । कार्यक्रममा उहाँका तीन पुस्तक लोकार्पण गरिएको थियो ।

सुनसरी जिल्लाको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्‍याउन कोइरालाको योगदान स्मरणीय छ । कोइरालाको निधनप्रति नेकपा एमालेका नेताहरुले गहिरो दुःख प्रकट गर्नुभएको छ ।