जनता टाइम्स

९ असार २०७६, सोमबार १२:३५

गगन थापालाई बाबुरामको जवाफ : पहिले अपहरित बीपीको रक्षा गर, त्यसपछि क्षमापूजा गरौंला


काठमाडौं ।

पछिल्लो समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेसका नेता गगन थापाविच जुहारी चल्न शुरु गरेको छ । गोरखाबाट कांग्रेसको समर्थन प्रतिनिधिसभामा विजयी हुनु भएका भट्टराईले कांग्रेसमाथी तथानाम भन्ने थालेको भन्दै भट्टराईकै गृहनगरबाट थापाले क्षमापूजा गर्ने घोषणा गर्नुभयो ।

त्यसको जवाफ दिदै पूर्वप्रधानमन्त्री समेत रहनु भएका भट्टराईले नेपाली कांग्रेसलाई बीपीको रक्षा गर्न आग्रह गर्नुभएको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले बीपीको मेलमिलाप नीतिलाई कार्यनीति र आदर्श बनाएर बीपीको अपहरण भएको उल्लेख गर्दै भट्टराईले अपहरित बीपीको रक्षा गर्न कांग्रेसलाई सुझाव दिनुभएको हो ।

थापालाई दुई दिनपछि ट्वीटरमार्फत् जवाफ दिदै भट्टराईले लेख्नु भएको छ, ‘बीपीलाई अब राप्रपाले अपहरण गरेछ ! बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई कांग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो। बीपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरू हो, पहिले अपहरित बीपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौंला। हामी साथ दिन तयार छौं।’

शनिबार भट्टराईको गृहनगर गोरखाको पालुङटारमा आयोजित कांग्रेसको कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले कांग्रेसकै भोटबाट गोरखा २ मा चुनाव जितेका बाबुरामले कांग्रेसलाई संग्रहालयमा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएको र बाबुरामलाई जिताउनु चुनावी भूल भएकोले क्षमापूजा गर्ने बताउनु भएको थियो ।