जनता टाइम्स

९ असार २०७६, सोमबार १७:२६

सरकारबिरुद्ध बिपक्षी भन्दा आक्रामक बन्दै जनार्दन शर्मा : गृहमन्त्री र प्रहरीबिरुद्ध संसदमै खनिए


सामाजिक सञ्जालमा आएका फोटाहरू जनताले खिचेको त हैन होला, फोटो प्रहरीले नै दिएको हो, फोटो हेर्दा पहिला हात खुट्टा भाँचेर गोली हानिएको अवस्था छ । के गोली हानेपछि हात खुट्टा भाचिएको त हैन होला ! यो कसरी मुठभेड हुनसक्छ ?

काठमाडौं, असार ९

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद जनार्दन शर्मा सर्लाही घटनालाई लिएर आफ्नै पार्टी नेता तथा गृहमन्त्री रामबहादुर थापाबिरुद्ध खनिनु भएको छ । सर्लाहीमा मारिएका विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको मुठभेडमा मृत्यु नभएको तर गृहमन्त्रीले मुठभेड भन्दै झुटो कुरा गरेको जनाई शर्मा खनिनुभएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरीले नै पौडेलको हत्या गरेको शर्माले दाबी गर्नुभयो । ‘फोटो तथा तथ्य हेर्दा मुठभेड हो भन्ने लाग्दैन, पहिला हात खुट्टा भाँचेर पछि गोली हानिएको अवस्था फोटोमा देख्न सकिन्छ,’ शर्माले भन्नुभयो । उहाँका अनुसार प्रहरीले पक्राउ गरी पहिला निर्मम यातना दिएर पछि गोली हानी हात्या गरेको हो । पौडेलको हत्यापछि समाजिक सञ्जालमा राखिएका फोटोहरू प्रहरीले नै उपलब्ध गराएको दाबी समेत शर्माले गर्नुभयो ।

‘सामाजिक सञ्जालमा आएका फोटाहरू जनताले खिचेको त हैन होला, फोटो प्रहरीले नै दिएको हो, फोटो हेर्दा पहिला हात खुट्टा भाँचेर गोली हानिएको अवस्था छ । के गोली हानेपछि हात खुट्टा भाचिएको त हैन होला ! यो कसरी मुठभेड हुनसक्छ ?’ शर्माले भन्नुभयो । शर्माले यस्ता घटनाले विद्रहो जन्माउने भन्दै गृहमन्त्रीको कडा आलोचना गर्नुभयो । ‘यस्ता घटनाले विद्रोहलाई सहयोग गर्छ, जनतामा असन्तुष्टि आउँछ,’ बैठकमा शर्माको भनाई थियो । यो घटनाले माओवादीले गरेको दश वर्षे जनयुद्धका क्रममा अप्रेसनका नाममा तत्कालीन समयमा प्रहरीले आफ्ना सहयोद्धाको हत्या गरेको समेत शर्माले स्मरण गर्नुभयो । उाहाँले यस्ता घटना घटाउनअघि न्यूनतम मानवअधिकारको कार्यान्वयन गर्न समेत प्रहरीलाई आग्रह गर्नुभयो ।

‘हामीले गल्ती गर्नेलाई कारवाही नगर्नु नभनेको होइन, तर कारवाही गर्दा हामीले बनाएको संविधानमा रहेर गर्नुपर्छ । हत्या गर्न मिल्दैन,’ पूर्वगृहमन्त्रीसमेत रहनुभएका शर्माले भन्नुभयो । उहाँले गृहमन्त्री थापाले दिएको जवाफबाट आफूलाई चित्त नबुझोकोसमेत सुनाउनु भयो । ‘उहाँको जवाफ औपचारिक हो । तलबाट जे रिर्पोट आयो, त्यही भन्नुभयो, म यो बुझ्छु,’ गृहमन्त्रीप्रति कडा ब्यंग्य गर्दै शर्माले भन्नुभयो । नेकपा नेता शर्माले विप्लव नेतृत्वको पार्टीलाई वार्तामा ल्याएर समस्याको समाधान गर्नुपर्ने सुझावसमेत दिनुभयो ।