जनता टाइम्स

९ असार २०७६, सोमबार १९:११

गृहजिल्लाबाट प्रचण्डले गरे पार्टी एकता भाँडन ठुलै षडयन्त्र भइरहेको खुलासा, सहमतिबिरुद्ध लाग्नेलाई प्रतिवाद गर्न अपिल


चितवन, असार ९

सतरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकता गर्दा भएका सहमती जस्ताको तस्तै पालना नभए दुर्भाग्यपूर्ण हुने चेतावनी दिनुभएको छ ।

आज आयोजित जिल्ला कमिटी चितवनको सपथग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले सहमती पालना नगर्नेलाई सबैले प्रतिवाद र खण्डन गर्नुपर्ने बताउनु भयो । ‘पार्टी एकता हुँदा जे–जे कुरालाई आधार मानेर हस्ताक्षर गरेका थियौं, त्यसबाट पछि हटे दुर्भाग्यपूर्ण हुनेछ । जस्ले सहमतीको पालना गर्दैन, जो बिचलित हुन्छ, उसलाई सबैले खण्डन गर्नुपर्दछ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

पार्टी एकतामा योगदान गर्नेहरुलाई आगामी महाधिवेशनले मुल्याँकन गर्नुपर्ने प्रचण्डको धारणा छ । सांगठानिक एकीकरणमा पार्टी एकतामा योगदान गर्नेहरु कत्लेयाममा परेको यथार्थसहित नेता कार्यकर्ताले गुनासो गरिरहेको बेला प्रचण्डले एकतामा योगदान गर्नेहरुलाई आगामी महाधिवेशनबाट मुल्यांकण गर्नुपर्ने भन्दै थामथुम पार्नुभएको हो ।

पार्टीको तत्कालिन कार्यदिशा सम्वन्धी राजनीतिक प्रतिवेदन तयार गर्न ढिलाई भएको जनाउँदै प्रचण्डले पहिला भएको सहमती अनुसार अव छिट्टै तयार हुने उल्लेख गर्नुभयो । जनताको बहुदलिय जनवाद कि जनताको जनवाद भन्ने कार्यदिशाका सवालमा प्रतिवेदनमा के कसरी उल्लेख गर्ने भनेर शीर्ष नेताहरुबीच पछिल्लो पटक मतान्तर देखिएको छ । नेकपाको एकता भएको एक बर्ष एक महिना बितिसक्दा पनि केन्द्रीय सदस्यको कार्यबिभाजन, केन्द्रीय निकाय, बिभाग गठन बाँकी रहेको छ ।

अध्यक्ष प्रचण्डले जिम्मेवारी वाँडफाडवारे अव छिट्टै प्याकेजमै टुँगोमा पुग्ने जानकारी दिनुभयो । अत्यन्त ठुलो मेहनतले पार्टी एकता सफल भएको जनाउँदै उहाँले निर्वाचन अघि गठवन्धन तोड्न र निर्वाचन पछि एकता तोड्नै ठुलो षडयन्त्र भएको ठोकुवा गर्नुभयो । ‘निर्वाचन अघि गठवन्धन तोड्न र निर्वाचन पछि एकता तोड्न ठुलो षडयन्त्र भएको छ, हामीले ती सवै षडयन्त्रलाई तोडदै अघि बढने संकल्प गरेका छौं,’ अध्यक्ष प्रचण्डको भनाई थियो ।