सुर्खेत, ११ कार्तिक । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका–१ की अन्दाजी १४ वर्षीया बालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ को बाँकेज्युलामा बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको अवस्था गम्भीर भएकाले उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राति ८ बजेतिर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले बताउनुभयो । बालिका अचेत अवस्थामा फेला परेको र अत्यधिक रक्तस्राव भइरहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । नगर अस्पतालमा उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
बालिकाको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानबाट बलात्कार भएको देखिएको प्रहरी निरीक्षक शर्माको बताउनुभयो । १४ वर्षीया बालिकालाई बाँकेज्युलाका २६ वर्षीय झलक जैसीले बलात्कार गरेको र उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाका बुवाले इलाका प्रहरी कार्यालय राडीमा ठाडो उजुरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्