जनता टाइम्स

१० असार २०७६, मंगलवार २०:५९

दाङमा चट्याङले लियो तीन बालकको ज्यान, जामुन खाँदै गर्दा लाग्यो चट्याङ


दाङ, असार १०

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्बर ३ मौरिघाटमा आज साँझ चट्याङ लागेर तीनजना बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

ईप्रका भालुवाङका प्रहरी नायव निरीक्षक रत्नबहादुर खत्रीका अनुसार मौरिघाटका १२ बर्षिय साजन चौधरी, १३ बर्षिय बिबेक चौधरी र १० बर्षिय रमित चौधरीको मत्यु भएको हो। चट्याङ लागेर सोही गाउँका ८ बर्षिय अबिनाश चौधरी घाइते भएका छन्। उनको लमही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार एकै गाउँका चारै बालक मौरिघाट माध्यामिक बिद्यालय परिसर नजिकै रहेको जामुनको रुखमुनी जामुन खाँदै थिए । बेलुका साढे ६ बजेतिर एक्कासी चट्याङ लागेर चार जना ढलेका थिए। चारमध्ये अविनाशको अवस्था मात्रै सामान्य रहेको र अन्य तीनजना अचेत अवस्थामा फेला परेका थिए।

‘मावि मौरिघाट परिसरमा जामुनको रुख रहेछ, चारै बालक खैल्दै जामुन खाँदै गरेका रहेछन्’, ईप्रका भालुवाङका प्रहरी नायव निरीक्षक खत्रीले भन्नुभयो, ‘त्यहीँ क्रममा बेलुका साढे ६ बजेतिर चट्याङ लागेको रहेछ।’

चट्याङ लागेर अचेतावस्थामा रहेका तीनै जना बालकलाई तत्काल लमही अस्पतालमा उपचारका लागि ल्याइएको थियो। अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको हो ।