जनता टाइम्स

११ असार २०७६, बुधबार ०८:३०

विद्यार्थी बोकेको ट्रयाक्टर दुर्घटनामा तीन जनाको मृत्यु


अछाम, असार ११

अछाममा आज विहान भएको ट्रयाक्टर दुर्घटनामा तीन विद्यार्थीको मृत्यु भएको छ । अन्य चार जना घाइते भएको अछाम प्रहरीले जनाएको छ ।

अछामको चौरपाटी गाउँपालिका–२ मूलीगाउँमा से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परि चौरपाटी गाउँपालिका २ का दशपल्ले माविबाट यो वर्ष एसईई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउदको मृत्यु भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो ।

ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्। शिक्षक बोगटीका अनुसार बालुवा लिन सेती नदीतर्फ गइरहेको ट्रयाक्टर सडकको ढु‌गामा ठोक्किएर पल्टिएको थियो ।