जनता टाइम्स

११ असार २०७६, बुधबार १३:००

विश्वकपमा सट्टेबाजी गर्ने पक्राउ


नवलपरासी, असार ११

विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह छन् । भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनका साथबाट ६ थान मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नेपाली तथा भारतीय नागरिकसमेतलाई आबद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएका शाह विगतमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहेको दाबी प्रहरीको छ ।

पक्राउ परेका शाहलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत दफा १२५ को उपदफा ४ बमोजिम कारवाही गरिने प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो । कसुरमा बरामद बिगो जफत गरी एक वर्ष कैद र रु दश हजारसम्मको जरिवाना हुने कानूनी व्यवस्था छ । शाह खाद्यान्न व्यापारी हुन् ।