जनता टाइम्स

२३ कार्तिक २०७८, मंगलवार १७:३४

चाँडै प्रदेशको नामाकरण हुने मुख्यमन्त्रीको उद्घोष, अघिल्लो सरकारले थालेका कामलाई पूरा गर्ने प्रतिवद्धता


संखुवासभा, २३ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताउनुभएको छ । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा आज बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताउनुभएको हो ।

अब चाडै नै नामारणका बारे छलफल थालिने मुख्यमन्त्री राईको भनाइ छ । नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने उहाँले बताउनुभयो । नामाकरणका लागि प्रतिपक्षी दल एमालेसँग समेत छलफल गर्ने सुनाउनुभयो । प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुन सक्ने समेत उहाँको भानइ छ । प्रदेशको नामारण बहुपहिचानको आधारमा सहमतिबाट टुङ्गो लगाउने बारे दलका प्रमुखसँग छलफल थाल्ने उहाँले बताउनुभयो ।

विगतका सरकारले संसदमा छलफल, प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिले सम्म हुन नसकेको उहाँले बताउनुभयो । पूर्व मुख्यमन्त्री शेरधन राईको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको पनि उहाँले आरोप लगाउनुभयो । देशको नामाकरण प्रस्ताव प्रदेशसभाको दुई तिहाइ मतबाट मात्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अरुण नदीमा पक्की पुल बन्छ

भोजपुर–संखुवासभा जोड्ने अरुण नदीमा पक्की पुल पनि आफ्नै कार्यकालमा पूरा गर्ने उहाँले बताउनुभएको छ । भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण हुन नसकेकोमा मुख्यमन्त्री राईले दुःख व्यक्त गर्नुभयो । आफ्नै कार्यकालमा अरुण नदीमा पक्की पुलको निर्माण गराउनेमा ढुक्क हुन जिल्लाबासीलाई आग्रह गर्नुभयो । अरुण नदीमा पक्की पुल नहुदाँ भोजपुरबासीले निकै सास्ती पाएको उहाँले बताउनुभयो ।

अरुण नदीमा पुक्की पुल बनाएर मुख्यमन्त्री भएर वाचा पूरा गर्न मुख्यमन्त्री राईले बताउनुभयो । संघीय सरकार १० बर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद् भएको बताउनुभयो । आफ्नो कार्यकाल छोटो भए पनि अरुण नदीमा पुक्की पुल निर्माण गरेरै छोड्ने पनि अठोट व्यक्त गर्नुभयो । अघिल्लो सरकारले थालेका राम्रा कामलाई पनि पूरा गर्ने मुख्यमन्त्री राईले प्रतिबद्दता जनाउनुभयो ।