जनता टाइम्स

३० कार्तिक २०७८, मंगलवार १२:४३

खोटाङ कांग्रेसको सभापतिमा रविप्रकाश र भूपेन्द्रको प्यानलबीच भिडन्त


खोटाङ, कात्तिक ३० । नेपाली कांग्रेसका नेता रविप्रकाश राईले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस महासमिति सदस्यसमेत रहेका राईले आज जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । राई केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।

कांग्रेस महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईले पनि जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसक्नुभएको छ । ०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका राईले २६ कात्तिकमा खोटाङ बजारमा भएको आफूपक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणा गर्नुभएको हो । उहाँ केन्द्रमा कृष्ण सिटौलासँग नजिक मानिन्छन् । आगामी ६ मंसिरमा जिल्ला अधिवेशन हुँदैछ ।

भूपेन्द्रको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई, प्रदेश क्षेत्र (ख) को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा रामचन्द्र केसीलाई उठाउने तयारी गरिएको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताउनु भयो ।