जनता टाइम्स

१ मंसिर २०७८, बुधबार २०:०२

‘एमआरपी’ लागु गरेको ११ वर्षपछि ‘ई–पासपोर्ट’


काठमाडौं, मंसिर १ । सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गरेको छ । पहिलो ई–पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीले पाउनुभएको छ । जोशीलाई एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले इ–पासपोर्ट वितरण गर्नुभएको हो । वैदेशिक यात्राका लागि यसअघि मशीन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग हुँदै आएकोमा आदेखि सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) कार्यान्वयनमा ल्याएको हो ।

विभागका अनुसार नयाँ पासपोर्ट लिनेहरूलाई अबदेखि विद्युतीय पासपोर्ट दिइने राहदानी विभागले जनाएको छ । सुरुका १० दिन परीक्षणको रूपमा हेरिने भएकोले सीमित सङ्ख्यामा मात्रै राहदानी वितरण गरिन्छ । त्यसपछि भने प्राविधिक पक्षहरूको अध्ययन गरेर नयाँ बनाउन आउने वा पुरानो राहदानीको समयावधि सकिएका सबैलाई ई–पासपोर्ट नै दिइने छ ।

ई–पासपोर्टमा भएको विद्युतीय चिप्समा व्यक्तिको सबै विवरण हुने भएकोले साइबर कानुनका कतिपय जानकारले भने सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्। लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागु गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्ष पछि ई-पासपोर्ट प्रयोगमा ल्याएको हो। अब विभागले दिने राहदानीमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका विवरणहरू समाविष्ट हुने बताइएको छ।