जनता टाइम्स

१२ असार २०७६, बिहीबार ०९:४२

बालुवाखानीको लेदोले पृथ्वी राजमार्गमा सवारी पुरिए, बाटो विहानैदेखी अवरुद्ध


धादिङ, असार ११

बालुवा खानीबाट बगाएको लेदोले गर्दा पृथ्वी राजमार्गको धादिङ सडकखण्ड विहानैदेखी अवरुद्ध भएको छ । ७० जिल्लाका सवारी साधन राजधानी प्रवेश गर्ने मुख्य सडक गल्छी–बैरेनीमा बिहान ५ बजे देखि यातायात ठप्प हुदा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको केबी कन्ट्रक्सन एण्ड सप्लायर्सद्वारा संचालित बालुवा खानीबाट आउने लेदोले राजमार्ग जाम हुने गरेको छ। बालुवा खानीबाट आएको लेदोले सवारी साधनका टायरहरु बालुवाले पुरिएको छ । बैरेनी बजार क्षेत्रमा भलबाढीले राजमार्ग मात्रै होइन बजार क्षेत्रका दर्जनौं घर डुबानमा परेका छन्। गल्छी गाउँपालिकाको केन्द्र रहेको बैरेनी बजारको दायाँबायाँको सडक खण्डमा भलबाढी बग्दा सडक नदी जस्तै हुन पुगेको छ। लेदो माटोसहितको बाढीले सवारी आवागमनमा समेत अवरोध पुर्‍याएको छ।

राति देखि परिरहेको पानी बिहानसम्म नरोकिएपछि बजार क्षेत्रमा डुबानको समस्या बढ्दै गएको हो। राजमार्गको आवागमन नै ठप्प हुने गरी सडकमा भलबाढी पसेको पहिलो पटक भने होइन वर्षौ देखि यो समस्या कायमै रहेको छ। दीर्घकालीन सोच बिना खनिएका सडकबाट बर्षात्का बेला माटो र ढुंगा बगाउँदै राजमार्गमा ल्याएर थुपार्ने गरेको छ।