जनता टाइम्स

१२ असार २०७६, बिहीबार १२:०२

ललिता निवास जग्गा प्रकरण : मुख्य अभियुक्तलाई पनि अख्तियारले बयानका लागि बोलायो


काठमाडौं, असार ११

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मुछिएका थप तीन जनालाई बयानका लागि बोलाएको छ । त्रिताल आयोगले भूमाफिया किटान गरेका दुईसहित एक कर्मचारीलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन पुर्जी काटेको हो । आफ्नो घरठेगानामा उनीहरु नभेटिएपछि अख्तियारले बिहीबार बिहान एक पत्रिकामा सार्वजनिक सूचना निकाल्दै सात दिन भित्र उपस्थित हुन भनेको छ ।

‘आफैले म्याद बुझे सजिलो भयो। नभए घर ठेगानामा म्याद टाँस्दा आए भने सार्वजनिक सूचना निकाल्नु परेन’ अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले भन्नुभयो, ‘तर म्याद टाँस्दा पनि नआएकाहरुलाई सार्वजनिक सूचना निकालिएको हो। सूचनाको सूचीमा परेका बाहेकहरु पनि छानबिनको दायरामा छन्।’

आयोगले आज गोरखापत्रमा सूचना प्रकाशित गरी डा. शोभाकान्त ढकाल, रामकुमार सुवेदी र हुपेन्द्रमणि केसीका नाममा पूर्जी जारी गरेको हो। यिनीहरुको निवासमा केही दिनअघि पूर्जी टाँसिएको थियो। काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ८६ जनालाई उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको थियो। ८६ जनाको सूचिमा शारदाप्रसाद त्रिताल नेतृत्वको समितीले ‘भूमाफिया’ भनी किटान गरेका शोभाकान्त ढकाल, रामकुमार सुवेदीको परिवार सहितका व्यक्ति र शंकास्पद मोहीहरु थिए।

बुधबार निकालिएको ८६ जनाको सूचिमा ५९ जना मोहीको नागरिकता र ठेगाना नै छैन । जसका कारण उनिहरु सबै नक्कली मोही भएको आशंका गरिएको छ । यद्यपी उनिहरु बयानका लागि उपस्थित हुने सम्भावना नरहेको स्रोतले जानकारी दिएको छ । अख्तियारले उनीहरुलाई आयोगमा सात दिनभित्र उपस्थित हुन सूचना निकाल्दै उपस्थित नभए कानून अनुसार कारवाही प्रक्रिया अघि बढ्ने चेतावनी दिएको छ।