जनता टाइम्स

६ मंसिर २०७८, सोमबार १५:४३

ओखलढुंगाको दुवै क्षेत्रमा कांग्रेस संस्थापन पक्षको प्यानलै विजयी


ओखलढुंगा, मंसिर ६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनमा शेरबहादुर देउवा पक्षीय उम्मेदवारको प्यानलै निर्वाचित भएको छ । सभापति शेरबहादुर देउवा समर्थित समूहको जिल्ला समापतिका उम्मेदवार तेजेन्द्र खनाल समूहको प्यानलै निर्वाचित भएको हो ।

खनाल नेतृत्वको क्षेत्रीय समितिका पदाधिकारी तथा प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र १ ‘क’ मा सन्तोषबाबु थापाको प्यानलै विजयी भएको छ । थापाले खसेको १३ सय ५८ मतमध्ये तीन सय ६९ मत ल्याउनु भएको छ । उहाँका प्रतिद्वन्द्वी पुराना नेता होमबहादुर कार्कीले दुई सय ७७ मत ल्याउनु भएको छ ।

उपसभापतिमा कृष्णप्रसाद कोइराला चार सय एक मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी केशरबहादुर गुरुङले तीन सय ८८ मत ल्याउनु भएको छ । यस्तै सचिवमा उमंग श्रेष्ठ तीन सय ९० र ऋषिकुमार चौलागाईले तीन सय ६६ मत ल्याएर विजयी हुनुभएको छ । सहसचिवमा दोर्ची शेर्पा तीन सय ८४ मत र पुष्कर थापा तीन सय ५९ मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा देउवा पक्ष तेजेन्द्र खनाल प्यानलका सबै उम्मेदवार हुनुभएको छ । बालकृष्ण दाहाल प्यानलका सबै उम्मेद्वार पराजित भएका छन् । निर्वाचन क्षेत्र ‘ख’ मा ६ सय ६७ मत खसेकोमा ४३ मत बदर भएको थियो । यो क्षेत्रमा तीन सय ३४ मत ल्याएर आश्राचन राई विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कुलबहादुर श्रेष्ठले दुई सय ९१ मत ल्याउनु भएको थियो ।

उपसभापतिमा चार सय दुई मत ल्याएर विष्णुकुमार कार्की र तीन सय ६० मत ल्याएर रुद्रप्रसाद घिमिरे विजयी हुनुभएको छ । यस्तै सचिवमा कल्याण राई तीन सय ७८ मत र केशरबहादुर तामाङ तीन सय ५६ मत ल्याएर विजयी हुनुभयो । सहसचिवमा नरध्वज खड्का तीन सय २५ मत र नवीनकुमार खड्का तीन सय ७६ मत ल्याएर विजयी हुनुभएको छ । बालकृष्ण दाहाल पक्षका दुई जना प्रदेश प्रतिनिधिका उम्मेदवार मात्रै विजयी भएका छन् । यो पक्षका विन्दा बोगटी र गोविन्द गिरी मात्रै निर्वाचित हुनुभएको छ । यो समूहलाई वर्तमान जिल्ला सभापति प्रदिपकुमार सुनुवारको समर्थन थियो ।

क्षेत्रको परिणामले प्रभाव

क्षेत्रीय समितिको मत परिमाणले जिल्लाको म‌ंगलबार हुने निर्वाचनमा समेत प्रभाव पार्ने अनुमान छ । दुई कार्यकाल सभापति चलाएका प्रदिप सुनुवारको समर्थन रहेकाले संस्थापन पक्ष निकै बलियो देखिएको छ । उनले वर्तमान जिल्ला उप(सभापति तेजेन्द्र खनालको नेतृत्वमा प्यानलै उम्मेदवार बनाएका छन् ।

कोइराला पौडेल समूहका उम्मेदवारका हिसाबले निकै पुराना र राजनीतिक रुपमा स्थापित नेता बालकृष्ण दाहाल हेभीवेट मानिएका छन् । उहाँ यसअघि सुनुवारसँगै पराजित हुनुभएको थियो ।

जिल्लामा मनोनयन हुँदै

जिल्ला नेतृत्वका लागि मनोनय सुरू भएको छ । मंगलबार हुने मतदानका लागि मनोनयन सुरू भएको हो । जिल्लामा पनि स‌ंस्थापन र कोइराला पौडेल समूहको प्यानलै उम्मेदवारी दर्ता गर्ने तयारी छ । आजै साँझसम्म जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिको मनोनयन तथा अन्तिम नामावली प्रकाशन हुनेछ ।