जनता टाइम्स

१२ असार २०७६, बिहीबार १५:१४

दुर्गममा जाँदैनन् कर्मचारी


सङ्खुवासभा, असार १२

सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । गाउँपालिककाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो । भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता रहेको वडासचिव नायबसुब्बा दावा लामाले बताउनुभयो ।

“एक वडामा महीनाको दुई–तीन दिनभन्दा बढी समय दिन सकिँदैन”, वडासचिव लामाले भन्नुभयो, “एक वडा कार्यालयबाट अर्को वडा पुग्न दुईदेखि चार दिनसम्म लाग्छ । आउजाउमै समय बित्छ ।” अधिकांश समय गाउँपालिका केन्द्रमै रहेर सेवा दिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । लामाका अनुसार स्थानीय सरकार सञ्चालनमा आएपछि सेवा विस्तार हुन सकेको छैन ।

भोटखोलामा प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, नायबसुब्बा (वडासचिव र कृषि शाखा प्रमुख), खरिदार, खानेपानी सरसफाइ प्राविधिक स्थायी कर्मचारी छन् । सो गाउँपालिकामा २७ जनाको दरबन्दी छ । तर पाँच जना मात्र हुँदा सेवाप्रवाहमा समस्या हुने गरेको छ । पाँच जना करार कर्मचारी थपिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताउनुभयो ।

अध्यक्ष भोटेका अनुसार पाँच वडामा एक–एक र गाउँपालिका कार्यालयमा दुई गरी सात जना कार्यालय सहयोगी राखिएको छ । कर्मचारी अभाव र भौगोलिक विकटताका कारण सोचेजस्तो काम गर्न नसकिएको उहाँको भनाइ छ । “एक जना वडासचिवलाई कतितिर कुदाउने ?”, अध्यक्ष भोटेले भन्नुभयो । सरकारले दरबन्दीअनुसार तत्काल कर्मचारी नपठाउने हो भने भोटखोलाका जनताले सहज रूपमा सेवा पाउन कठिन छ ।

सिंहदरबारकेन्द्रित सरकारी सेवा गाउँ पु¥याउन कठिन हुने उहाँको भनाइ छ । यहाँ दुर्गम भत्ताको व्यवस्था भए पनि कर्मचारी आउन नमानेको अध्यक्ष भोटेले गुनासो गर्नुभयो । कर्मचारीलाई आकर्षित गराउन गाउँपालिकाले थप मासिक रु चार हजारसमेत व्यवस्था गरेको छ । यातायातको असुविधाले पनि कर्मचारी भोटखोला आउन रुचाउँदैनन् ।

चीन र भारत जोड्ने छोटो मार्ग किमाथाङ्का–विराटनगर सडक सोही गाउँपालिका हुँदै जाने भए पनि समयमा सम्पन्न हुन सकेको छैन । हिउँदमा भोटखोला गाउँपालिकाको गोलासम्म सडक सञ्चालनमा आउने गरेको छ । गाउँपालिका केन्द्रसम्म सडक सञ्चालन हुने हो भने भोटखोलामा पनि कर्मचारी आउने उपाध्यक्ष पान्जाम भोटेको विश्वास छ ।

सरकारी सेवा भोटखोलाका स्थानीय जनतासम्म पु¥याउन किमाथाङ्का–विराटनगर सडक तत्काल निर्माण गरी सञ्चालन गर्न आवश्यक रहेको पान्जामले बताउनुभयो । जिल्ला सदरमुकाम खाँदबारीबाट ३० कोस टाढा रहेको भोटखोला चीनको सीमा क्षेत्रमा पर्छ । यो गाउँपालिका साबिकका किमाथाङ्का, चेपुवा, हटिया, पावाखोलाका १ देखि ३ वडा मिलेर बनेको हो ।