जनता टाइम्स

८ मंसिर २०७८, बुधबार १३:५४

सोलुखुम्बुको कांग्रेस नेतृत्व चयनका लागि पुनः मतदान हुने


सोलुखुम्बु, ८ मंसिर । नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान यही मङ्सिर १४ गते हुने भएको छ । नेपाली कांग्रेसको हिजो बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । पदाधिकारी चयनका लागि यही मङ्सिर २ गते पार्टीको निर्वाचन भए पनि सभापति चयन हुन सकेको थिएन ।

जिल्ला सभापतिमा तीनजनाको उम्मेदवारी परेपछि कांग्रेसको विधानअनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो । पार्टीको विधानअनुसार सभापतिमा दुई वा सोभन्दा बढी उम्मेदवार भएको खण्डमा कुनै पनि उम्मेदवारले कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

यदि ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सहमतिबाट सभापति चयन गर्न सक्ने र सहमति पनि नभएको खण्डमा पुनः निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ । जिल्ला सभापतिका लागि नाम्गेलजाङ्बु शेर्पा, विनोदकुमार बस्नेत र रामबहादुर बस्नेतको उम्मेदवारी परेको थियो । कूल मतदाता ९२४ मध्ये ८८२ मत खसेको थियो ।

सोमध्ये विनोदकुमारले ४२८ मत, नाम्गेलजाङबुले ४१८ र रामबहादुरले पाँच मत प्राप्त गर्नुभएको थियो । सबैभन्दा कम मत प्राप्त गर्नुभएका उम्मेदवार रामबहादुर स्वतः बाहिएसँगै अबको निर्वाचनमा नाम्गेलजाङबु र विनोदकुमारबीच प्रतिस्पर्धा हुने भएको छ । मङ्सिर २ मा सम्पन्न निर्वाचनबाट उपसभापतिसहित जिल्ला कार्यसमिति र २५ महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।