जनता टाइम्स

१३ असार २०७६, शुक्रबार ०९:१९

पशुपतिनाथको दर्शनलाई सहज बनाइने


काठमाडौं, असार १३

भारत राजस्थानको प्रदेश सरकारले त्यस प्रदेशका ज्येष्ठ नागरिकलाई खर्च बेहोरेर पशुपतिनाथ दर्शन यात्रा गराउने घोषणा गरेपछि त्यसको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले आवश्यक अध्ययन थालेको छ ।

भारतीय ज्येष्ठ नागरिक पशुपतिको दर्शनका लागि चाप बढ्न सक्ने भन्दै त्यस्तो अध्ययन थालेको हो । कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार औपचारिक रूपमा राजस्थानबाट ज्येष्ठ नागरिकको तीर्थयात्राबारे कोषलाई जानकारी आएको छैन तर पनि राजस्थानबाट आमसर्वसाधारण सरह तीर्थयात्रीको आगमन हुँदा अपनाइनुपर्ने व्यवस्थापनबारे कोषले तयारी थाल्ने बताउनुभयो । त्यसका लागि आवश्यक अध्ययन गरिने उहाँको भनाइ छ ।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार यसरी समूहसाथ आउने तीर्थयात्रीलाई नेपाल–भारतमैत्री धर्मशालामा रहने, बस्ने र सहज रूपमा पशुपतिनाथको दर्शन, आरती गर्ने व्यवस्थाका लागि प्रदान गरिने सुुविधाको अध्ययन हुनेछ ।