जनता टाइम्स

१३ असार २०७६, शुक्रबार ११:४१

पत्रकार महासङ्घ कास्कीद्वारा विभिन्न विधामा तीन पत्रकार सम्मानित


पोखरा, असार १३

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं स्थापित विभिन्न तीन विधाका पत्रकारिता पुरस्कारबाट तीन पत्रकारलाई सम्मान गरिएको छ । पोखरा पत्रकारिता पुरस्कार, २०७५ बाट श्यामनाथ कुँवरलाई सम्मान गरिएको छ । उहाँलाई रु ३५ हजार एक नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

त्यसैगरी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७५ बाट पत्रकार त्रिभुवन पौडेल सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि रु २५ हजार एकसहित दोसल्ला र सम्मानपत्र रहेको छ । त्यस्तै जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार, २०७५ पत्रकार गीता रानालाई अर्पण गरिएको छ ।

सो पुरस्कारको राशि रु ११ हजार १११ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको सभाहलमा बिहीबार आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले तीनै जना पत्रकारालाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा उहाँले पत्रकारिता क्षेत्रको विकासमा पुरस्कार र सम्मानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मुलुकमा विधि, नीति र कानूनको कार्यान्वयन गराउने क्षमता पत्रकारसँग रहेको उल्लेख गर्नुभयो ।

सत्य, तथ्य र मर्यादित एवं व्यावसायिक पत्रकारिताको माध्यमबाट पत्रकारले इज्जत आफैंले आर्जन गर्नुपर्दछ भन्दै उहाँले संविधानले प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको धारणा राख्नुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए पत्रकारले वैकल्पिक पेशातर्फ लाग्नुको विकल्प नरहेको बताउनुभयो ।

पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारका संस्थापक सरस्वती भण्डारी, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विष्णु बराल, अग्रज पत्रकार बद्रीविनोद प्रतीक र कुसुम केशव पराजुलीलगायतले पत्रकारिता पुरस्कारलाई व्यवस्थित गर्न निर्देशिका बनाएर वितरण गर्दै आएको जानकारी दिनुभयो ।