जनता टाइम्स

१४ मंसिर २०७८, मंगलवार १२:३९

गृहजिल्लामै घेराबन्दीमा परे शेखर कोइराला


विराटनगर, १४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला गृहजिल्लामै घेराबन्दीमा पर्नुभएको छ । कोइराला निकटका मोरङ जिल्ला सभापतिका उम्मेदवार डिगबहादुर लिम्बुलाई पराजित गर्न संस्थापन इतर पक्षका नेताहरूरु एकै ठाउँमा उभिनुभएको छ । संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले संस्थापन पक्षका उम्मेदवार दिलीप गच्छदारलाई जिताउन मोर्चाबन्दी गरेका छन् ।

शेखरलाई गृह जिल्ला मोरङमा नै कमजोर पारेको सन्देश दिन नेताहरू एकै ठाँउमा उभिनुभएको हो । पहिलो चरणमा सम्पन्न मोरङ कांग्रेसको निर्वाचनमा संस्थापन इतर समूहबाट निवर्तमान सभापति डीगबहादुर लिम्बु र पूर्वसचिव यदु विष्ट र संस्थापन पक्षका दिलीप गच्छदार उम्मेदवार हुनुहुन्थ्यो । जसमा लिम्बुले सर्वाधिक १५ सय ४४, गच्छदारले ११ सय ६६ र विष्टले ५ सय ६३ मत ल्याउनुभएको थियो । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज पुनः मतदान हुँदैछ ।

दोस्रो चरणको मतदानको पूर्वसन्ध्यामा पौडेल, शशांक, सिंह, सिटौलालगायतका नेताहरू निकटका जिल्ला नेतासँगै विष्टले सोमबार साँझ पत्रकार सम्मेलन गरी गच्छदारलाई समर्थन गरेको घोषणा गर्नुभएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली पनि शेखर कोइरालाको साथ छोडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गर्नुभएको छ । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गर्नुभएको हो । नेताहरूले गुट परिवर्तन गरेपछि मोरङ कांग्रेसको जिल्ला अधिवेशन पेचिलो बनेको छ ।

यसले मोरङको जिल्ला सभापतिको निर्वाचन रोचक पनि बनेको छ । लिम्बू र गच्छदारबीच कडा प्रतिस्पर्धाको परिस्थिति निर्माण भएको छ । शेखर कोइरालालाई आफ्नो राजनीति शाख जोगाउन लिम्बुलाई जस्तोसुकै जोखिम मोलेर भए पनि जिताउनुको विकल्प छैन । गच्छदारलाई समर्थन गर्ने जिल्लाका नेताहरूलाई पनि आआफ्नो राजनीति जोगाउन चुनौति थपिएको छ । पराजुलीले जिल्ला सभापतिमा लिम्बु असफल भएकाले गच्छदारलाई रोज्न बाध्य भएको बताउनुभयो ।

तर, केन्द्रीय निर्वाचनमा शेखर कोइरालाको साथ नछोड्ने प्रतिक्रिया उहाँले दिनुभएको छ । विष्टले गरेको पत्रकार सम्मेलनमा भाग जानुभएको उहाँले जिल्लामा पात्र मात्रै परिवर्तन गरेको बताउनुभयो । विष्टको पत्रकार सम्मेलन नसकिँदै शेखर कोइरला निकट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पत्रकारसँग कुराकानि गर्दै गच्छदारलाई चुनाव जिताउन संस्थापन पक्षले पैसाको चलखेल गरेको समेत आरोप लगाउनुभयो । आफू कोइराला क्याम्प नछाडेको उहाँले घोषणा गर्नुभयो ।