जनता टाइम्स

१३ असार २०७६, शुक्रबार १२:०८

पूर्वप्रधानमन्त्रीलगायत चार सयले अवलोकन गरे इञ्जिनीयर रिमालको एकल प्रदर्शनी


काठमाडौं, असार १३

आर्किटेक्ट इञ्जिनीयर तथा चित्रकार शङ्करनाथ रिमालको एकल प्रदर्शनीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत अन्य नेताले अवलोकन गर्नुभएको छ । असार ५ गतेबाट शुरु भएको प्रदर्शनीमा लगभग चार सयले अवलोकन गरेको रिमालले जानकारी दिनुभयो ।

“आगामी दिनमा मेरो कलालाई थप निखार्दै जानेछु”, उहाँले भन्नुभयो । प्रदर्शनीका क्रममा आफ्नो कलालाई आगामी दिनमा थप निरन्तरता दिँदै जानुपर्नेलगायत अन्य सकारात्मक सुझाव आएको उहाँले बताउनुभयो । उहाँको निजी निवास नक्साल, नारायणचौरमा शशिशङ्कर ग्यालरीसमेत प्रदर्शनीमार्फत विस्तार गर्नुभएका रिमाल भन्नुहुन्छ, “निजीस्तरबाट सञ्चालित भएकाले सधैँभरि खुला हुँदैन, अवलोकन गर्न चाहनेले सम्पर्क गरेर आउन सक्नेछन् ।”

रिमालको चित्रकला र मूर्तिकला आधुनिक परम्परागत शैलीसँग सम्बन्धित छन् । रिमालको ग्यालरीमा ३५ चित्र, १५ मूर्ति, लगभग ५० भन्दा बढी आर्किटेक राखिएका छन् । रिमालको यो पहिलो एकल प्रदर्शनी हो । रिमालको परिवारका सदस्यहरुको पारिवारिक जमघटबीच प्रदर्शनी बिहीबार सम्पन्न भएको छ ।