जनता टाइम्स

१४ असार २०७६, शनिबार ०९:४७

वृक्षारोपण अभियान शुरु : आफुले रोपेको विरुवालाई सन्तान झै माया गरेर हुर्काउन प्रधानमन्त्री ओलीको अपिल


काठमाडौं, असार १४

सरकारले आजदेखि देशभर वृक्षारोपण अभियान शुरु गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालयको पहलमा दिवसका अवसरमा शनिबार काठमाडौँ कोटेश्वर–कलङ्की चक्रपथ खण्डमा एक साथ करीब तीन हजार विभिन्न प्रजातिका बिरुवा रोप्ने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रियस्तरमा असार १४ गते ‘वृक्षरोपण दिवस’ मनाउने घोषणा गरिसकेको छ ।

दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा विरुवा रोपेर यसको औपचारिक उद्घाटन गर्नुभएको छ । उहाले अब सरकारले हरित सडक हरित वातावरण बनाउने अभियानमा लागेको जानकारी गराउनु भयो । उहाले सबै नेपालीलाई आफुले सक्ने ठाँउमा वृक्षारोपण गरेर हरित वातावरण बनाउन सहयोग गर्न अपिल समेत गर्नुभयो । ‘सबैले आ–आफ्नो ठाउबाट वृक्षारोपण गरौं, ठाउको अभाव भए कौशीमा गएर एउटा गमलामा खुर्सानीको बोट भएपनि लगाऔं’, उहाले अगाडी भन्नुभयो,‘झोला बोकेर बजारतिर जानु भन्दा कौशीमै तरकारी लगाउने वातावरण सिर्जना गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले वृक्षारोपणमात्रै गरेर छाड्ने प्रवृति अन्त्य गर्न समेत आग्रह गर्नुभयो । उहाले आज आफुले रोपेको वृक्षको जिम्मा लिन समेत आव्हान गर्नुभयो । ‘वृक्षारोपण गरिएका विरुवा हुर्काउने जिम्मा सबै नेपालीले लिनुपर्छ, तर आज आफुले रोपेको विरुवाको जिम्मा आफै लिनुहोस्, आफ्नो सन्तान जस्तै हेरचाह गर्नुहोस्’, उहाले अगाडी भन्नुभयो,‘ वृक्षारोपणमा मात्र होइन अब त्यसको सुरक्षामा प्रतिष्पर्धा गर्नुहोस् ।’

कार्यक्रम अन्तर्गत कोटेश्वरदेखि कलंकीसम्म २४ सय फलफूलका बिरुवा रोपिनेछन्। सरकारले वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई सरिक हुन निर्देशन दिएको छ। यसैगरी प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ।

सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने निर्णयसमेत गरेको छ। प्रधानमन्त्री ओलीले गत वर्ष जुन ५ तारिखदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान थाल्नु भएको थियो ।