जनता टाइम्स

१४ असार २०७६, शनिबार ११:२३

प्रधानसेनापति थापाद्वारा आँपको बिरुवा रोपेर ‘एक जवान एक बिरुवा’ अभियान सुरु, डेढ लाख रोपिने


काभ्रेपलाञ्चोक, असार १४

प्रधानसेनापति पूर्णचन्द्र थापाले नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेँसीस्थित नेपाली सेनाको २६ नम्बर बाहिनी अड्डाको बागबाणी इलाका (दलसिं पाखा) मा आज ‘एक नागरिक, एक फलफूल बिरुवा’ रोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । उहाँले आँपको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

अड्डाको एक हजार रोपनीमध्ये ३८ रोपनी क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिने कार्यक्रम रहेको निमित्त बाहिनीपति दिनेश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि बाहिनीको हाताभित्र विभिन्न प्रजातिका ३२० फलफूलका बिरुवा रोपण गरी संरक्षण तथा सम्वद्र्धन गरिँदै आएको छ ।

आज आँप १००, लिचीे ७०, अनार १००, कागती १००, कटहर १००, लप्सी ५०, किम्बुका १४ वटा तथा अन्य प्रजातिका ४६६ बिरुवा रोपिएको छ । वृक्षरोपणका लागि बिरुवा धुलिखलस्थित विष्णुदल गणको नर्सरी, डिभिजन वन कार्यालय र कृषि ज्ञान केन्द्रले उपलब्ध गराएका थिए ।