जनता टाइम्स

१४ असार २०७६, शनिबार ११:३३

पहिरो प्रभावितका लागि सामूहिक बस्ती


फिदिम, असार १४

पाँचथरको याङवरक गाउँपालिका–४ फलैँचाका पहिरो प्रभावित स्थानीयवासीका लागि सामूहिक बस्ती निर्माण गरिने भएको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले पहिरोबाट प्रभावित तथा जोखिममा रहेका परिवारका लागि सामूहिक बस्ती निर्माण गर्ने निर्णय गरेको हो । फलैँचामा मङ्गलबार पहिरो गएपछि २५ परिवार विस्थापित भएका थिए ।

उनीहरुको दीर्घकालीन आश्रयस्थलको व्यवस्था गर्नका लागि समितिले सङ्घीय र प्रदेश सरकारसँग सामूहिक बस्ती निर्माणका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताउनुभयो । याङवरकको चिङ्मा, मुक्लाबु, सेपीलगायत बस्ती उच्च जोखिममा रहेकाले त्यहाँका बासिन्दाका लागि स्थायी आश्रयस्थल निर्माण अत्यावाश्यक रहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाभित्र उचित जमीनको पहिचान गरी सामूहिक बस्ती बसाल्न पहल गरिने गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो ।बैठकले पहिरोबाट प्रभावितको सूची तयार पार्न तथा पहिरोबाट भएको क्षतिको विवरण सङ्कलन गर्न उपाध्यक्ष कमलकुमारी योङहाङको संयोजकत्वमा टोली गठन गरेको छ ।

पहिरोबाट प्रभावित परिवारलाई गाउँपालिकाले परिचयपत्र उपलब्ध गराउने भएको छ । पहिरो गएको ठाउँमा दर्जनौँको सङ्ख्यामा पशु चौपाया मरेका छन् । पहिरो प्रभावितमध्ये १५ परिवार हाल डुँडेचौरमा खुला स्थानमा बस्दै आएको छ ।