नयाँ दिल्ली, ३ पुस । भारतको झारखण्ड राज्यस्थित राजधानी राँचीमा एक राष्ट्रिय खेलका क्रममा सत्तारुढ भारतीय जनता पार्टीका सांसदले खेलाडीमाथि हातपात गरेका छन् । भारतको उत्तर प्रदेशस्थित कैसरगंजबाट प्रतिनिधित्व गर्ने सांसद बृजभूषण शरण सिंहले युवा पहलवान खेलाडीमाथि मञ्चमै जाइलागेर दुई झापड हानेका हुन् ।
सत्तारुढ सांसदले थप्पड प्रहार गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । खेलाडीमाथि दुर्व्यवहार गरेको भन्दै सांसद सिंहका साथै भाजपाको पनि आलोचना भइरहेको छ । राँचीमा यू–१५ राष्ट्रिय कुश्ती च्याम्पियनसिप खेलका क्रममा यो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कार्यक्रममा सिंह प्रमुख अतिथि थिए । ६ पटक लोकसभामा सांसद रहेका सिंह भारतीय कुश्ती महासंघका अध्यक्ष पनि हुन् । प्रतियोगितामा भाग लिन नपाएका पहलवानले कुश्ती महासंघका अध्यक्ष सिंहसँग खेल्न पाउन गुहार माग्दा झापड भेटेका हुन् । आयोजकले उनको उमेर बढी भएको भन्दै खेल्न अनुमति दिएको थिएन ।
उनी खेल्नका लागि पहल गरिदिन अनुरोध गर्दै सांसद सिंह कहाँ पुगेका थिए । तर सिंहले मञ्चबाटै झापड हानेर लखेटेका थिए । यो दृश्य क्यामेरामा कैद भएपछि अहिले भारतभर भाइरल भइरहेको छ । अन्य खेलाडी यो घटनाको विरोध गरेका छन् । विपक्षी पार्टीले पनि भाजपाको खेल नीति भन्दै भिडियो शेयर गरेर आलोचना गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्