जनता टाइम्स

४ पुष २०७८, आईतवार १६:१५

न्यून दृष्टियुक्त विद्यार्थीलाई न्यानो कपडा वितरण


पाल्पा, ४ पुस । पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । समितिका सल्लाहकार होमबहादुर थापाले जाडोको मौसम सुरु भएसँगै न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो बनाई अध्ययनलाई सहजता ल्याउन कपडा वितरण गरिएको बताउनुभयो ।

समितिका सदस्य बृहस्पति रानाले न्यून दृष्टियुक्त बालबालिकाको पठ्नपाठनलाई सरल बनाउने र उनीहरुको शिक्षामा पहुँच विस्तार गर्ने वातारण सिर्जना गर्नुपर्ने बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार आर्यलले विसं २०५२ मा स्थानीयवासीको सहयोगमा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई खानाको व्यवस्था गरी पठनपाठन सञ्चालनमा ल्याएकोे बताउनुभयो ।

विद्यालयले उनीहरुका लागि आवासीय सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले यस विद्यालयबाट न्यून दृष्टियुक्त भएका १२० बढी विद्यार्थीले उच्च शिक्षा प्राप्त गरिसकेको उहाँको भनाइ छ । तीमध्ये अधिकांश जागिरे अवस्थामा रहेको उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले छरछिमेकका न्यून दृष्टियुक्त बालबालिका अलपत्र अवस्थामा भेटिएमा विद्यालयले आवासीय सुविधासहित निःशुल्क पठनपाठनको ब्यवस्था गर्ने बताउनुभयो । उहाँले न्यून दृष्टियुक्त बालबालिकाले पढ्न पाउने अधिकारबाट बञ्चित हुन नपर्ने गरी पठनपाठनको सेवा दिएकोे धारणा व्यक्त गर्नुभयो । यस विद्यालयमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जालगायत जिल्लाका न्यून दृष्टियुक्त बालबालिकाले अध्ययन गर्दै आएका छन् ।