जनता टाइम्स

६ पुष २०७८, मंगलवार १६:२५

भारतीय कूटनीतिमा प्रविधिको प्रयोग


प्रस्तुत अनुभव नेपालको सन्र्दभमा पनि लाभदायक छन । सिप र क्षमताका आधारमा परराष्ट्र नीतिको जिम्मेवारी, प्रविधि विकासमा जोड र अर्थ नीति मुखरित नीतिलाई आधार बनाई नेपाल अव अघि बढ्नु पर्दछ । भागवण्डाले परराष्ट्रनीतिको मर्यादा च्युत भएको छ

विपिन देव

कानेगी शोध संस्थानको अनुष्ठानमा विभिन्न वैश्विक मुद्दाहरूमाथि डिसेम्वर १४ देखि डिसेम्वर १६ सम्म विमर्श भएको छ । जलवायु परिर्वतन, प्रजातान्त्रिक पद्धति, खुला बजारको रुपरेखा, हिन्दमहासागरीय नीति, कवाड र अकस, परराष्ट्रनीति जस्ता विभिन्न मौलिक विषयहरू माथि विज्ञहरू आप्mनो अभिमत राखेका छन् । ‘भू–राजनीति र प्रविधि’ विषयमा सामरिक जानकार डा. सि राजमोहन र भारतका परराष्ट्रमन्त्री डा. एस जयशङ्करले संवाद शैलीमा कूटनीतिको प्रारुप र प्रविधिले कूटनीतिलाई पारेको प्रभावको वारेमा आलोकित गरेका छन । डा. सी राजमोहन र डा. जयशङ्कर जवाहरलाल नेहरु विश्वविद्यालयमा सहपाठी नै थिए । उक्त संवादले वदलिदो अवस्थामा कूटनीति पेचिलो र गहन भइरहेको कुरा माथि प्रकाश पारेका छन । वास्तवमा प्रविधि परराष्ट्र नीतिको अभिन्न अङ्गका रुपमा विकसित भइरहेको अवस्था छ ।

परराष्ट्र नीतिको उद्देश्य नै राष्ट्रले गरेको प्रगतिलाई अन्तराष्ट्रिय स्तरमा पहिचान स्थापना गराउनु हो । परराष्ट्र नीति औपचारिक शब्दहरूको अदान प्रदान गर्ने कर्मकाण्ड होइन । परराष्ट्र नीति राष्ट्रिय प्रगति र अन्तरर्राष्ट्रिय प्रगतिको संयोजन गर्ने विज्ञान हो । यस अर्थमा वडो चटकिलो भाषामा डा. जयशंकरले प्रतिकात्मक रुपमा दिल्ली र वैंगलौरलाई परर्राष्ट्र नीतिसँग जोडका छन । अर्थात दिल्ली भन्नाले राज्य सत्ताको प्रतीक हो भने वेंगलौर विज्ञान र प्रविधिको प्रतिक हो । अर्थात दिल्लीले वेंगलोरको चस्मावाट संसारसँग सम्वन्ध र सम्पर्क बनाउनु पर्दछ । प्रविधिको हस्तानतरण, रुपान्तरण र विकास नै परराष्ट्र नीतिको अर्जुनदृष्टि रहेको कुरा डा. जयशंकरले स्वीकार गरेका छन । भारतले परराष्ट्र नीतिको माध्यमबाट प्रविधिमा आप्mनो पहुँच वढाएको देखिन्छ ।

पचासको दशकमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु सोभियत रुसको १६ दिने यात्रा गरेर सोभियत रुसले विज्ञान र प्रविधिमा प्राप्त गरेका सफलतावाट सम्मोहित भएका थिए । नेहरुले सोभियत प्रविधिलाई भारतमा प्रयोग गर्न भागिरथ प्रयास गरेका थिए । आप्mनो कालजयी पुस्तक ‘डिस्कोभरी अफ इण्डिया’मा सोभियतसँगको विकासलाई उनले उच्च मूल्याङ्कन गरेका छन् । पचासको दशकदेखि भारतले प्रविधिको खोजी र प्रविधिको प्रयोगलाई उच्च महत्व दिएका छन् । अर्थात भारतको परराष्ट्र नीतिको प्रमुख उद्देश्य नै दौत्य सम्वन्धको माध्यमवाट साझेदारी (पार्टनरसिप) बढाउनु हो । वर्तमान परिवेशमा साझेदारीको विकास नै राष्ट्रिय क्षमता र सम्पनताको आधारमा हुन्छ । अन्तर्राष्ट्रिय सम्वन्ध भन्नाले नै लेनदेनको व्यापार हो । भावुकता, आवेग र संवेग भन्दा आपसी हित र राष्ट्रिय स्वार्थ नै कूटनीतिको उठान हो ।

न्युक्लियर डिपलोमेसी विद्यावारिधि गरेका डा. जयशङ्करले भारतको सन १९७४ मा गरेको न्युक्लियर परीक्षणको असरको वारेमा चहकिलो र जहकिलो रुपले प्रकाश पारेका छन् । न्युक्लियर परीक्षणपश्चात भारतले केही समयसम्म विश्वको उच्च प्रविधिवाट वञ्चित रहनुपरेको थियो । संसारको उच्च प्रविधि उपलब्ध गराउनु भारतीय परराष्ट्र नीतिको लक्ष्य रहेकोले सन १९८४ मा रेगन सरकारसँग प्रविधि हस्तान्तरणको लागि सम्झदारी भयो । १० वर्षसम्म भारतको प्रमुख उद्देश्य नै अमेरिकाको दिल दिमाग जितेर प्रविधि उपलब्ध गराउन थियो । कालान्तरमा भारत र अमेरिकाबीच सामरिक सम्वन्ध विकसित हुँदै गयो । भारत अमेरिकाको सामरिक साझेदार हुन गए । हुनत भारतका पूर्वप्रधानमन्त्री अटल विहारी वाजपेयीले अमेरिकालाई प्राकृतिक साझेदार (नेचुरल एलाइज) को संज्ञा दिएका छन । भारतले सामरिक साझेदारीको सम्वन्धलाई प्रचूर मात्रामा प्रयोग गरेर अमेरिकासँग न्युकिलियर सम्झौता गरेका छन् ।

न्यूक्लियर सम्झौताको महत्व माथि प्रकाश पार्दै भारतका पूर्वप्रधानमन्त्रीले आप्mनो पुस्तक “एक्सिडेन्टल प्राइमिनिस्टर”मा आप्mनो १० वर्ष कार्यकालको सबभन्दा ठुलो उपलब्धिको रुपमा लिएका छन । वर्तमान परिवेशमा भूमण्डलीकरणको राप र तापले परराष्ट्र नीति पनि प्रभावित भएका छन् । एकातर्फ अन्तर्राष्टिय विश्ववन्धुत्वको नारा, खुला बजार र उदारीकरणको वहस अगाडि वढिरहेका छन भने अर्कोतर्फ संरक्षणवाद र राष्टवादको पनि नयाँ ढंङ्गले व्याख्या भइरहेको छ । डा. जयशङ्करले ढुलमुले अवधारणालाई चिर्दै परराष्ट्र नीतिका पेचिला पक्षलाई व्याख्या गरेका छन । कोरनाको कहरमा घरेलु वितरण प्रणाली (डोमेसटिक स्पलाई चेन) कमजोर भएका मुलुकहरूले धेरै व्यथा खेप्नुपरेको थियो । कोरनाको कहरमा भारतीय परराष्ट्र नीतिले अदभूत सफलता प्राप्त गरेको कुरा उनले सम्वादमा प्रष्ट पारेका छन् । सार्क राष्ट्रवीचको सम्वन्धदेखि युरोप र अमेरिकासँगको सम्वन्ध र सम्पर्कले गर्दै राहतमा तिव्रता आएको कुरा उनले उल्लेख गरेका छन् ।

भारतले कोरनाको पहिलो कहर (फस्ट वेभ)मा १५४ राष्ट्रहरूलाई सहयोग गरेको थियो भने दोस्रो कहरमा (सेकेन्ड वेभमा) विश्वका अधिकांश मुलुकहरूसँग सहयोग प्राप्त गरेको थियो । वास्तवमा सहयोगको लेनदेन नै परराष्ट्र नीतिको प्रयोग हो । कोरना कालमा विभिन्न उपकरणहरूको विकास, खोप क्षमताको विकास, जनशक्तिको सिप अभिवृद्धिकरणमा परराष्ट्र नीतिको उपलब्धिको रुपमा उनले रेखाङ्कित गरेका छन ।

क्वाडलाई उनले परराष्ट्रनीतिसँग जोडेका छन् । हिन्दमहासागरीय क्षेत्रमा एक विलियन खोपको वितरण हुनु, प्रविधि आदान प्रदान हुनु, कनेक्टीभिटी विस्तारको पहल हुनु, शोधार्थी र विद्यार्थीहरू एक अर्का देशमा अनुभव र अध्ययनको लागि जानु नै क्वार्डको सफलता हो । यसै सन्र्दभमा भारतका निजी क्षेत्रको सुरक्षा उपकरण निर्माणमा रहको उदारिनता पनि एउटा महत्वपूर्ण प्रश्न रहेको छ । अमेरिकामा नासा जस्तो सुरक्षाका लागि संवेदनशील शोध संस्थानले पनि सुरक्षा उपकरणको निर्माणका लागि अमेरिकाका निजी क्षेत्रलाई जिम्मेवारी दिएका छन भने भारतमा सुरक्षा उपकरणहरूको निर्माणमा निजी क्षेत्रको सहभागिता देखिएको छैन ।

जब कि विज्ञान र प्रविधिको विकासमा भारतको निजी क्षेत्रले यथेष्ट योगदान गरेका छन । भारतको विज्ञान र प्रविधिको क्षेत्रमा भारतका निजी क्षेत्रहरू इण्डियन इन्स्युट अफ साइन्स, टाटा रिसर्च सेन्टर, हिन्दुस्तान एयोरोनेटिक्स जस्ता उदाहरणीय सफलता प्राप्त गरेका छन । यस अर्थमा आउने दिनमा सुरक्षा र सामरिक क्षेत्रमा निजी क्षेत्रको सहभागिता पनि अपरिहार्य रहेको कुरा जानकारहरूको बुझाई रहेको छ । भारतका परराष्ट्र नीतिले सौर्य गठवन्धनको माध्यमवाट वैकल्पी उर्जाको लागि विश्वमा एउटा नयाँ अभियान प्रारम्भ गरेको छ भने हरित क्रान्ति र हरित प्रविधिको विकासका लागि पनि अन्तर्राष्ट्रिय क्षेत्रमा सहयोग र समन्वयको वातावरण निर्माण गरिरहेको छ । वदलिँदो परिवेशमा प्रजातन्त्र र प्रविधिको अन्योनाश्रित सम्वन्ध रहेको छ ।

प्रजातन्त्र भन्नाले पारदर्शिता र निष्पक्षता हो भने त्यसलाई प्रत्याभूति गर्ने माध्यम नै प्रविधि हो । यस अर्थमा भारतको परराष्ट्र नीतिको प्रमुख उद्देश्य भारतीय जनशक्तिको क्षमता विकासको लागि आवश्यक वातावरण निर्माण गर्नु हो । यस सन्र्दभमा इजरायलका पूर्वप्रधानमन्त्रीले एउटा रोचक उद्गार प्रकट गरेका छन । सिलकन भ्यालीनमा हिन्दी र हिब्रु भाषा मात्र गुञ्जित हुन्छन । विश्वका उच्च मानव शक्ति या त यहुदी हुन या त हिन्दुस्तानी । सिप विकास र जनशक्तिको विकास नै अर्थतन्त्रका प्रमुख आधार हुन ।

प्रस्तुत अनुभव नेपालको सन्र्दभमा पनि लाभदायक छन । सिप र क्षमताका आधारमा परराष्ट्र नीतिको जिम्मेवारी, प्रविधि विकासमा जोड र अर्थ नीति मुखरित नीतिलाई आधार बनाई नेपाल अव अघि बढ्नु पर्दछ । भागवण्डाले परराष्ट्रनीतिको मर्यादा च्युत भएको छ ।