जनता टाइम्स

१६ असार २०७६, सोमबार १६:१६

मलामी आएका बेला नुहाउने क्रममा सेतीमा बगेर बेपत्ता


डोटी, असार १६

सेती नदीमा नुहाउने क्रममा आज दिउँसो बगेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ७ बस्ने ४० वर्षीय चक्र कुञ्जेडा रहेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित सेती नदीमा आफन्तको मलामी आएका बेलामा नदीमा नुहाउने क्रममा कुञ्जेडा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख कमलापती पन्तले जानकारी दिनुभयो ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीवासीले उनको खोजी गरिरहेका छन् । नदीमा पानीको बहाव बढी भएको तथा धमिलो पानी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ । गर्मी बढेका कारण उक्त नदीमा नुहाउन जानेको सङ्ख्या बढ्दै गएकाले गत जेठ महीनादेखि अहिलेसम्म उक्त नदीमा बगेर पाँच जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।