जनता टाइम्स

१६ असार २०७६, सोमबार १६:५६

विवेकशीलले गर्यो पदाधिकारी-केन्द्रीय समितिमा महिला–पुरुष बराबरी प्रतिनिधित्वको ब्यवस्था


काठमाडौं, असार १६

विवेकशील नेपाली दलले पदाधिकारी-केन्द्रीय समितिमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ । असार १३ देखि १५ गतेसम्म रोल्पाको लिवाङमा आयोजित नीति सम्मेलनले प्रमुख ६ पदाधिकारीमध्ये ३ पदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै अव अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना, महासचिव वा कोषाध्यक्षमध्ये एक र दुई सचिवमध्ये एकजना महिला प्रत्यक्षरुपमा निर्वाचित हुने सुनिश्चिता गरेको सो पार्टीका प्रवक्ता मिलन पाण्डेले जानकारी दिनुभयो । यसैगरी संघीय समितिमा महिला सहभागिता कम्तीमा ३७.८४ प्रतिशत र अन्य समावेशी सहभागिता कम्तिमा २१.६२ प्रतिशत गरी ५९.४६ प्रतिशत समावेशिता सुनिश्चित गर्ने निर्णय पनि विवेकशीलले गरेको छ ।

सम्मेलनले केन्द्रीय समितिमा बढीमा ९९ जना रहने र पदाधिकारीसहित ७४ जना प्रत्यक्षरुपमा निर्वाचित हुने व्यवस्था गरेको छ । नयाँ निर्णयअनुसार अधिकतम २४ जना मनोनित सदस्य मनोनीत हुनेछन् । केन्द्रीय समिति सदस्यहरु खुला, प्रदेश र समावेशी समूहबाट निर्वाचित हुने छन् । यस्तै, १८ देखि २१ वर्ष उमेर समूहका फरक फरक लिंगका २ जना सदस्यहरु पनि केन्द्रीय समितिमा निर्वाचित हुने व्यवस्थासमेत गरिएको छ ।