जनता टाइम्स

१६ असार २०७६, सोमबार १९:१०

आउदो आर्थिक बर्ष उत्साह र उमंगको हुने प्रधानमन्त्री ओलीको घोषणा


काठमाडौं, असार १६

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र वर्तमान सरकारप्रति जनताको ठुलो भरोसा भएको बताउनुभएको छ । नेकपाको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले जनताको भरोसा टुट्न नदिनका लागि पार्टी एकताबद्ध हुनुको विकल्प नभएको बताउनुभएको छ । “हामीप्रति जनताको ठुलो भरोसा छ । त्यसलाई टुट्न दिनुहुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसका लागि हामी सबैले जो जहाँ छौं त्यसै अनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्दछ । ”

प्रधानमन्त्री ओलीले यसै आर्थिक बर्ष भित्र पार्टी एकताका सबै काम टुंगिसक्ने बताउनुभएको छ । “पार्टी एकता भएन भनेर अब धेरै निराश हुनु पर्दैन । असारभरीमा एकताका काम टुंगिन्छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “आगामी आर्थिक बर्ष हाम्रा लागि उत्साह र उमंगको बर्ष हुनेछ ।”

बैठकमा साँससदहरुले सरकारका काम ,पार्टी एकता,बजेट बिनियोजन आदि बिषयमा जिज्ञासा र सुझाव राख्नु भएको थियो । बैठक आगामी शनिबार दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।