जनता टाइम्स

१७ असार २०७६, मंगलवार ०९:४२

बस र ट्रक आपसमा ठोक्किँदा एकको मृत्यु, ६ घाइते


सर्लाही, असार १७

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने छ घाइते भएका छन् । आज बिहान ३ः४० बजे लालबन्दी नगरपालिका–१७ फुलजोर पुलस्थित बा३ख २०५४ नंको बस र ना५ख ७७९५ नंको ट्रक आपसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पले टोकेको बिरामीलाई घारीबथानबाट बसमा राखेर लालबन्दीतर्फ जाँदै गरेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एकापसमा ठोक्किँदा बसमा सवार तीन र ट्रकका चालकसहित तीन गरी छ घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि अबरुद्ध भएको राजमार्गलाई प्रहरीले खुलाएको छ ।

घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ का रञ्जित ठोकर, त्यहीका प्रताप ठोकर, रोहित लामा, सर्लाही ईश्वरपुर नपा–१२ घारीबथानका ध्रुवप्रसाद घिमिरे, गोपाल घिमिरे र सुजन घिमिरे छन् । घाइतेको लालबन्दीका विभिन्न स्पातालमा उपचार भइरहेको छ ।