जनता टाइम्स

१७ असार २०७६, मंगलवार १८:३६

खानेपानीका ईन्जिनियर मियाँ साढे चार लाख घुस रकमसहित पक्राउ


पोखरा, असार १७

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर साढे चार लाख घुसको रकमसहित पक्राउ परेका छन् । ईन्जिनियर वसीअख्तर महोम्मद मियाँ ४ लाख ५५ हजार रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।

बिरुवा गाउँपालिका–८ मा सञ्चालित छत्रे खानेपानी उपभोक्ता समितिको योजनाबाट रकम लिएका मियाँलाई रोशन खड्काको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका मियाँलाई अनुसन्धानपछि कारबाही गरिने अख्तियार कार्यालयले जनाएको छ । रौतहट जिल्ला घर भएका मियाँ झण्डै डेढ दशकदेखि स्याङ्जाको खानेपानी कार्यालयमा कार्यारत छन् । पुतलीबजार नगरपालिका–१ नारायणस्थान स्थित डेरामा रकम बुझ्दाबुझ्दै अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।