जनता टाइम्स

१० माघ २०७८, सोमबार १६:५२

कर्मचारीमा कोरोना संक्रमणभएपछि जिल्ला प्रशासन रसुवाको सेवा शुक्रबारसम्म बन्द


रसुवा, १० माघ । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ । कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना देखिएपछि सोमबारदेखि सेवा बन्द भएको हो । आज एक सूचना जारी गरी कार्यालयका अधिकांश कर्मचारी संक्रमित भएकाले शुक्रबारसम्म सेवा स्थगित गरेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जनाउनुभयो ।

सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालयको नागरिकता, संघ संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटतर्फका सम्पूर्ण सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।

सेवा लिन सदरमुकाम आएका सेवाग्राहीहरू सूचना पाएपछि फर्केका छन् । शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवाहरू भने नियमित हुने सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले बताउनुभयो । हिमाली जिल्ला रसुवामा पछिल्लो समय कोरोना संक्रमितको दर बढ्दै गएको छ ।